१२ तारे होटेलको चलअचल सम्पत्ति रोक्का
काठमाडौँ, २६ वैशाख ।काठमाडौँ महानगरपालिकाले वषौँदेखि करको दायरामा नआएका १२ वटा तारे होटेललाई कारबाही गर्ने भएको छ । पटकपटक सूचना जारी गरी करको दायरामा आउन आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले ती व्यवसायीको चलअचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय गरेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले करको दायरामा नआउने व्यवसायीलाई करको दायरामा ल्याउन स्वायत्त शासन ऐन २०५५ अनुसार होटेलको चलअचल सम्पत्ति रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको बताए । उनका अनुसार महानगरपालिकाले सम्पत्ति हस्तान्तरण रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, पर्यटन उद्योग महाशाखा र स्थानीय निकायलाई पत्राचार गर्ने तयारी गरेको छ ।
महानगरपालिकाको तथ्याङ्कअनुसार मल्ल, रोयलसिङ्घे, सोल्टी, हायात रिजेन्सी, ¥याडिसन, एभरेस्ट, शङ्कर, माउन्टेन, ल्यान्डमार्क, मार्कोपोलो, याक एण्ड यति र साङ्ग्रीला होटेल विसं ०५६÷०५७ देखि नै महानगरपालिकाको करको दायरामा आएका छैनन् । महाशाखा प्रमुख काफ्लेकाअनुसार करको दायरामा ल्याउनका लागि यहि वैशाख ९ गते पहिलो पटक सार्वजनिक रुपमा होटेलको नाम उल्लेख गरिएको थियो भने १८ गतेदेखि एक हप्ताका लागि सार्वजनिक सेवाअन्तर्गत फोहोर सङ्कलन रोक्का गरेको थियो ।त्यसो गर्दा पनि कर तिर्न नमानेपछि होटेल व्यवसायीको सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय भएको महाशाखा प्रमुख काफ्लेले जानकारी दिए ।