घरकर्जाको ब्याज ८ प्रतिशतमा झर्यो
काठमाडौ, २८ वैशाख ।वाणिज्य बैंकहरूले घरकर्जाको ब्याज ८ प्रतिशतसम्म झारेका छन् । यसले घरजग्गा किन्न चाहनेका लागि ५ वर्षपछि राहत पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमान्डु र नबिल बैंकले ८ प्रतिशत ब्याज बनाएका हुन् । स्ट्यान्डर्डले त स्थायी लेखा नम्बर (प्यान कार्ड) भएकाहरूलाई ७ दशमलव ७५ प्रतिशतमै घरकर्जा दिने भएको छ । ‘कर तिर्न प्रोत्साहनसमेत होस् भनेर प्यान कार्ड लिनेका लागि ब्याज घटाएका हौं,’ बैंकका ब्रान्ड, मार्केटिङ र कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले भने ।
बैंक अफ काठमान्डुले राजधानीमा आयोजित घरजग्गा मेलामा अन्य सेवा शुल्कमा सहुलियत दिएर ग्राहक आकषिर्त गर्ने प्रयास गरिरहेको छ । ‘यो मेलाका लागि ल्याइएको विशेष योजना हो,’ बैंक अफ काठमान्डुका उपभोक्ता कर्जा प्रमुख बुद्धप्रसाद मानन्धरले भने, ‘बजारमा ठूलो उतारचढाव भएन भने केही समय यो योजना लागू रहन्छ ।’यससँगै नबिल बैंकले पनि ८ प्रतिशतमै घरकर्जा दिन थालेको छ । बैंकको वेबसाइटअनुसार अन्य वित्तीय संस्थाबाट कर्जा सार्न चाहनेका लागि पनि उक्त सुविधा दिएको छ । नेपाल बैंकले भने महिलाहरूका लागि ७ दशमलव ९ प्रतिशतमा घरकर्जा सार्वजनिक गर्दैछ । ‘यो योजना जेठ १ देखि लागू हुनेछ,’ बैंकका जनसम्पर्क अधिकृत अश्विन पुडासैनीले भने ।बजारमा अत्यधिक तरलता भएपछि बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन् । वित्तीय संस्थाले अनिवार्य रूपमा राष्ट्र बैंक र आफूसँग राख्नैपर्ने भनी तोकिएको सीमाभन्दा बढी जम्मा भएर रहेको रकमलाई तरलता भनिन्छ । उक्त रकम बैंक वित्तीय संस्थाले तत्काल लगानी गर्न सक्छन् ।पाँच वर्षअघि पनि अत्यधिक तरलता भएकै कारण बैंक वित्तीय संस्थाले घरजग्गामा व्यापक लगानी गरेका थिए । २०६६ पुसमा राष्ट्र बैंकले यसरी बढेको ऋण नउठ्ने सम्भावना भएको भन्दै नियन्त्रण गर्ने निर्देशन जारी गरेको थियो । जसअनुसार घरजग्गामा दिइएको कर्जामा सीमा तोकिएको थियो । उक्त सीमाका कारण बैंकहरू ऋण लगानी रोकेर बचत बढाउन बाध्य भए । सर्वसाधारणको पैसा आकषिर्त गर्न बैंकहरू बचतमा ब्याज बढाउन थाले । बचतको ब्याज बढेपछि कर्जाको लागत पनि बढ्दै गयो ।दुई वर्षअघिसम्म घरकर्जाकै दर १५ प्रतिशतभन्दा माथि पनि पुगेको थियो । तर यस वर्ष फेरि तरलता अत्यधिक भएपछि बचतको ब्याज घट्न थाल्यो । सँगसँगै लगानी गर्न योग्य रकम (तरलता) थुपि्रँदै गएपछि वित्तीय संस्था कम ब्याजमै भए पनि लगानी गर्न बाध्य भए । सरकार र बैंक आफैसँग यत्तिकै थन्किएको रकम हेर्दा आगामी दिनमा अन्य बैंकलाई पनि ब्याजदर घटाउनुपर्ने दबाब पर्ने देखिन्छ । ‘तरलताको अवस्था अबका दिनमा कस्तो हुन्छ सोहीअनुसार ब्याजदर निर्धारण हुनेछ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘तर अझै केही समय ब्याज बढ्ने सम्भावना देखिँदैन ।’चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थासँग ४० अर्बभन्दा बढीको तरलता छ । वर्षान्तमा सरकारले पनि खर्च बढाउने हुँदा तरलता थप बढ्ने सम्भावना बलियो छ । चैत मसान्तमा सरकारी ढुकुटीमा ८१ अर्ब रुपैयाँ छ । उक्त रकम खर्च हुँदै जादा थप तरलता थपिएर अन्य बैंकलाई पनि ब्याज घटाउन दबाब पुग्ने देखिन्छ । ऋणको ब्याज घटेसँगै बचतको पनि कम भएकाले बैंकमा पैसा राखेर प्रतिफल लिनेहरूमा भने नकारात्मक असर पर्नेछ ।
असार अन्त्यमा भएको खर्चले आगामी आर्थिक वर्षको ६ महिनासम्म तरलता अत्यधिक हुने सम्भावना बलियो रहेको बैंकर बताउँछन् । घरकर्जाको ब्याजदरलाई एकै चोटि ९ प्रतिशतमा झारेको एभरेस्ट बैंकले अहिले नै आगामी दिनको प्रक्षेपण भने गरिसकेको छैन । तर बजारको अवस्था हेरिरहेको बैंकका नायब महाप्रबन्धक एचपी कुलकर्णीले बताए । ‘घरकर्जाको ब्याजदर कम गर्दै जानेमा हामी अगाडि नै छौं । अहिलेको अवस्थामा पनि ग्राहक सन्तुष्ट नै छन्,’ उनले कान्तिपुरसित भने, ‘आगामी दिनमा के हुन्छ त भन्न सकिँदैन तर घटाइहाल्नुपर्ने अवस्था छ जस्तो देखिँदैन ।’नयाँ ग्राहकको ब्याजदर घटे पनि पाँच वर्षयता बढाइएको साविकका ग्राहकलाई भने अझै राहत नपुगेको गुनासो छ । १० प्रतिशतमा कर्जा लिएकाहरूको दर १५ सम्म पुगेको थियो । तरलता बढ्दै जाँदा केही घटे पनि अझै १२ भन्दा तल नझरेको भन्दै ग्राहकहरू सम्बन्धित बैंक धाइरहेका छन् । ‘यो गुनासो आएको छ तर हामीले साविकका ग्राहकको ब्याज पनि निक्कै नै घटाइसकेका छांै,’ कुलकर्णीले भने ।८ दशमलव ५ प्रतिशतमै घरकर्जा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले पनि तरलता अभाव हुनेबित्तिकै हठात नबढाउने गरी नयाँ दर ल्याएको बताए । ‘काठमाडौंबाहिर पनि माग भएकाले ब्याजदर घटाएका हौं,’ उनले भने, ‘भोलि एकाएक बढाएर ग्राहकलाई मर्का नपरोस् भन्नेतर्फ सचेत छौं ।’