जुट्यो सुरुङ मार्गको स्रोत
काठमाडौ, २ जेष्ठ । नेपाल पूर्वाधार विकास कम्पनीले हेटौंडा सुरुङ मार्गको लागि निर्धारित समयमै आर्थिक स्रोत(फाइनान्सियल क्लोजर) जुटाएको दाबी गरेको छ ।उक्त शीर्षकमा गत मंगलबार विवरण पेस गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । ‘स्रोतबारे विवरण पेस गरेको हो ।विधिसम्मत भए/नभएकोबारे विज्ञ टोलीले अध्ययन गरिरहेको छ,’उनले भने ।उनका अनुसार मन्त्रालयको वैदेशिक महाशाखाका सहसचिवको नेतृत्वमा विवरण अध्ययन गर्न एक समिति गठन भएको छ । स्रोत जुटाउन नसकेको हल्ला चलिरहेका बेला समयमै जुटाई विवरण पठाइसकेकाले निर्माण कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । ‘तोकिएकै समयमा फाइनान्सियल क्लोजर गरेका छौं । अब कुनै समस्या छैन,’ कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, ‘निर्माणको काम अघि बढ्छ ।’