अब सफा नोट मात्रै

२०७१ जेष्ठ २७ गते, मंगलवार

काठमाडौ,२७ जेठ । राष्ट्र बैंकले सफा नोट नीतिलाई कडाइका साथ लागू गर्ने तयारी गरेपछि अब बजारमा थोत्रा, च्यात्तिएका र गन्हाउने नोट भेटिने छैनन् ।बैंकको सफा नोट नीतिपछि बजारमा नयाँ र सुकिला नोट मात्र पाइने भएको हो ।राष्ट्र बैंकले परिपत्र जारी गर्दै सबै वर्गका बैंक वित्तीय संस्थालाई सफा नोट नीति लागू गर्न भनेको छ । जसलाई अनुसरण गर्दै बैंक वित्तीय संस्थाले ग्राहकलाई नयाँ वा सफा नोट मात्र दिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले ०६७ साउनमा सबै बैंक वित्तीय संस्थालाई नयाँ नोटको प्रयोग बढाउन यस्तो नीति लिन सुझाव दिएको थियो । तर बैंक वित्तीय संस्थाले उक्त परिपत्रको पूर्ण पालना नगरेपछि पुनः थप प्रावधान राखेर निर्देशन दिइएको हो ।’बजारमा पुराना नोटको चलनचल्ती र प्रयोग बढी भयो,’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, ‘केन्द्रीय बैंकको प्रतिबद्धता सफा नोट ल्याउने हो ।’ प्रतिबद्धताअनुसार निर्देशनका रूपमा सफा नोट नीति आएको र त्यसलाई पालना नगरे कारबाही हुने उनले बताए । ‘यसअघि बैंक वित्तीय संस्थाको पूर्ण सहयोग नपाएकाले लागू हुन सकेको थिएन,’ उनले भने, ‘अब लागू नगरे निर्देशन उल्लंघन गरेकामा कारबाही हुन्छ ।’ सर्वसाधारणमा चेतना बढाउन पनि नीति ल्याइएको उनी बताउँछन् । सफा नोट नीति लागू भएपछि पुराना नोट नचल्ने भने होइनन् । बैंक वित्तीय संस्थामार्फत पुराना नोटलाई राष्ट्र बैंकले संकलन गरेर नयाँ नोटको प्रयोग बढाउने तयारी हो । यस्तो नीति विभिन्न मुलुकका केन्द्रीय बैंकले लिएका छन् ।नोट मुलुकको प्रतिष्ठासँग जोडिएकाले त्यसलाई सफा राख्न यस्तो नीति लिइएको हो । ‘नोट पुरानो हुँदा गन्हाउने, गणना गर्न अप्ठेरो हुने, आकर्षण नहुने र मानवीय स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने भएकाले यस्तो नीति लिएका हौं,’ उनले भने । राष्ट्र बैंकले नीति लागू भए/नभएको पनि अनुगमन गर्नेछ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक वित्तीय संस्थाले आफूसँग रहेको नोटलाई दुई भागमा वर्गीकरण गर्नुपर्नेछ । जसअन्तर्गत चलनचल्तीमा पठाउन योग्य र अयोग्य भनेर छुट्टाछुट्टै प्याकेटमा राख्नुपर्ने व्यवस्था गरिएको छ । ‘चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा अनिवार्य रूपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने’ व्यवस्था निर्देशनमा गरिएको छ ।चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा पनि सबै प्रक्रिया पूरा गरेर रातो रङको स्लिपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।चलनचल्तीमा पठाउन योग्य नोट ग्राहकलाई उपलब्ध गराउनुपर्ने र पुराना नोट भने राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।सम्भव भएसम्म नोटमा स्टिच प्रयोग नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘सम्भव भएसम्म स्टिचको प्रयोग नगरी रबर ब्यान्ड वा प्लास्टिकको ब्यान्ड प्रयोग गर्नुपर्ने’ उल्लेख छ । ज्यादै आवश्यक भए एउटासम्म स्टिच प्रयोग गर्न भनिएको छ ।

राष्ट्र बैंकले प्रयोग गर्न नमिल्ने पुराना नोट संकलन गरेर त्यसलाई नष्ट गरेर नयाँ नोट उपलब्ध गराउने गरेको छ । तर बैंक वित्तीय संस्थाले पुराना नोट साट्नभन्दा प्रयोग गर्न बढी जोड दिएपछि यस्तो निर्देशन आएको हो । वैशाखसम्मको तथ्यांक अनुसार २ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँ बराबरको नोट बजारमा चलनचल्तीमा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु