विद्युतीय रेलमार्गको शिलान्यास हुदै
काठमाडौ, १ असार ।नेपालमा पहिलोपटक मेची–महाकाली जोड्ने रेलमार्गको आज शिलान्यास हुँदैछ ।मेची–महाकाली जोड्ने बर्दिबास–सिमरा खण्डको शिलान्याससँगै भौतिक निर्माणको काम सुरु हुने नेपाल रेलवे विभागले जनाएको छ ।विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेश्वरमान सिंहका अनुसार सरकारकै पहलमा रेलमार्गको भौतिक निर्माण सुरु हुन लागेको यो पहिलोपटक हो । सर्लाही रानीगञ्जमा आज हुने विशेष समारोहमा बर्दिवास–सिमरा खण्डको औपचारिक शिलान्यास गर्ने कार्यक्रम छ ।
१ सय ८ किलोमिटरको यो खण्डमा ६ वर्षभित्र निर्माण काम पूरा गरिसक्ने विभागको लक्ष्य छ । सुरुमा सर्लाही फुलजोरबाट सवा ५ किलोमिटरसम्म माटो पुर्ने र कल्भर्ट तथा पुल बनाउने काम हुने सिंहले उज्यालोलाई जानकारी दिनुभयो । मेची महाकाली विद्युतीय रेल मार्गको लम्बाई ९ सय ४५ किलोमिटरको हुनेछ ।लगानी जुटाउन सकेमा १५ वर्षभित्र पुरै काम सकिने विभागले जनाएको छ । नेपालमा रेल सेवा सुरु भएको ७० वर्षसम्म पनि प्रभावकारी काम हुन सकेको छैन । भारतको जयनगरबाट जनकपुरसम्म २९ किलोमिटरको एक मात्र रेल सेवाबाट यात्रुले सुविधाभन्दा बढी सास्तै खेप्दै आएका छन् ।