प्रथम कृषि व्यवसायीकरण प्रदर्शनी सम्पन्न
काठमाडौं, । व्यवसायिक कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा आयोजित प्रथम कृषि व्यवसायीकरण प्रदर्शनी सोमबार सम्पन्न भएको छ । व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले आइतबार र सोमबार दुई दिन राजधानीको भृकुटीमण्डपमा प्रदर्शनी गरेको हो ।यहाँ आयोजनाबाट सहयोग प्राप्त गरेका किसान, सहकारी र प्राइभेट फार्मका ८८ ओटा स्टल राखिएका थिए । प्रदर्शनी उत्साहजनक रुपमा सम्पन्न भएको आयोजक प्याक्टले जनाएको छ ।किसानबीच एक–आपसमा सहयोग बढाउन र बजारीकरणमा सहयोग पुगोस् भनेर पहिलो पटक कृषि व्यवसायीकै अग्रसरतामा यस्तो प्रदर्शनी गरिएको आयोजनाका कार्यकारी निर्देशक योगेन्द्रकुमार कार्कीले बताए । मेलाको ५० हजार बढीले अवलोकन गरेको जनाइएको छ ।
नेपाल सरकार र विश्व बैंकको सहयोगमा २०६५ सालदेखि आयोजना (प्याक्ट) कार्यान्वयनमा आएको हो । जिल्लाका साना कृषक, कृषि व्यवसायी तथा कृषि उद्यमीहरुको प्रतिष्पर्धात्मक क्षमतामा सुधार गर्ने मुख्य उद्देश्यसहित आयोजना सञ्चालनमा आएको हो ।
२५ जिल्लाबाट सुरु भएको आयोजना प्रभावकारीता बृद्धिसँगै यस वर्षबाट ७५ ओटै जिल्लामा विस्तार गरिने भएको छ । प्रभावकारीताकै कारण २ अर्बको परियोजना हाल ८ अर्ब पुगेको पनि कार्कीले दाबी गरे ।
आयोजनाले कृषिको व्यवसायीकणमा लागेका किसान, सहकारी र फर्महरुलाई पूरक बजेटका रुपमा ३५ लाख देखि १ करोडसम्मको वित्तीय सहयोग गर्दै आएको छ । दुर्गमा जिल्लामा १० लाख सम्मको सूक्ष्म अनुदान कार्यक्रम सञ्चालन गरिंदै आएको पनि आयोजनाले जनाएको छ ।
हरेक वर्गमा कृषिको व्यवसायीकरण प्रति जागरुकता बढ्दै गएको कार्कीले बताए ।