एमएम ६० जहाज व्यवसायिक उडान भर्दै
काठमाडौ, ११ असार । नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमएम ६० जहाजको आज बुधबारबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमतिपत्र लिन लामो समय लागेका कारण असारको सुरुबाटै उडान सुरु गर्ने जनाइए पनि प्रक्रिया पूरा गर्न केही समय लागेको थियो । निगमले बुधबारका लागि काठमाडौँ–विराटनगर, विराटनगर–काठमाडौँको उडान तालिका तय गरेको छ ।
व्यावसायिक उडानअन्र्तगत बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो जहाज विराटनगर प्रस्थान गर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो । निगमले विराटनगरका लागि रु तीन हजार ५०५ एकतर्फी भाडादर तय गरेको छ ।
अति व्यस्त हुने स्थानअन्तर्गत निगमले पहिलो चरणमा विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा सेवा दिने जनाएको छ । निगमले तय गरेको भाडा दर अन्य सेवा प्रदायक विमान कम्पनीको तुलनामा केही सस्तो रहेको छ । पहिलो चरणमा हप्तामा १५ उडान गर्ने योजनाअन्तर्गत बुधबारबाट व्यावसायिक उडान सुरु गरिने र विस्तारै थप गर्दै लैजाने निगमको योजना रहेको छ ।