सुनकोसी थुनिँदा भन्सार राजस्व प्रभावित
काठमाडौ । राम्चेको जुरेमा शनिबार गएको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनबाट आयात भएका करोडौँ मूल्यका सामान अलपत्र भई राजस्व घाटा भएको छ ।पहिरोले अरनिको राजमार्गको करिब डेढ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि यातायातमा अवरोध उत्पन्न भई राजस्व सङ्कलनमा करोडौँको घाटा भएको हो ।चालु आवका लागि छ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको सो नाकाबाट दैनिक रु एक करोड राजस्व सङ्कलन हुँदै आएको छ । दसैँको सामान भित्रिने समय भएकाले हाल दैनिक रु दुई करोड ५० लाखसम्म राजस्व सङ्कलन हुने तातोपानी भन्सार प्रमुख मिमांश अधिकारीले बताए ।
सडक बन्द भएका कारण खासाबाट सामान भरिएका ४०–४५ वटा कन्टेनर भ्यान भन्सार परिसरमा रहेको र अरु २०–२५ वटा कन्टेनर भ्यान खासा क्षेत्रमा रहेकोसमेत भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।
“पहिरोले थुनेर तलाउ बनेको सुनकोसीको पानी नघटेसम्म पैदल बाटोसमेत नखुल्ने भएकाले अहिले यसबारेमा सोच्नै सकिँदैन,” उनले भने– “पछि कुनै विकल्प निस्कन्छ कि भन्ने आशा गरेको छु ।”पहिरोकै कारण क्षेत्र नं १ र २ का ५५ गाविसमा विद्युत् र टेलिफोन लाइन बन्द भएपछि सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । विद्युत्को अभावमा चार्ज गर्न नपाएपछि मोबाइल सेट बन्द भएको र पहिरोले काठमाण्डुदेखि खासासम्म बिछ्याइएको अप्टिकल फाइभरको लाइन क्षतविक्षत भएको बताइन्छ ।
तातोपानी नाका भएर अरनिको राजमार्ग हुँदै माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि चीनबाट सामान लिएर आएको १०÷१२ वटा ट्रकसमेत बीच बाटोमा रोकिएर बसेको तातोपानी गाविस निवासी समाजसेवी बहादुर शेर्पाले बताए ।बाटो अभावले बाह्रबिसेलगायत तातोपानी क्षेत्रका करिब दुई दर्जन बासिन्दा तल आउन र यताका बासिन्दाहरु माथि जान नसकेको बताइएको छ । – रासस