नेसनल ट्रेडिङको जग्गामा प्यालेस
काठमाडौ ।नेसनल ट्रेडिङ लिमिटेडले वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अटेर गर्दै अमूल्य जग्गा पार्टी प्यालेस सञ्चालन गर्न निजी क्षेत्रलाई भाडामा दिएको छ ।वाणिज्यमन्त्री सुनीलबहादुर थापाको निर्देशन अटेर गर्दै नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले दुई ठाउँको आठ रोपनी जग्गा भाडामा दिएका हुन् । मन्त्री थापाले पार्टी प्यालेस सञ्चालन गर्न कुनै पनि जग्गा भाडामा उपलब्ध नगराउन नेसनल ट्रेडिङलाई पटकपटक निर्देशन दिएका थिए ।स्रोतका अनुसार निमित्त महाप्रबन्धक मेहताले मिलेमतोमा रामशाहपथस्थित ट्रेडिङ हाताभित्र रहेको करिब तीन रोपनी जग्गा पार्टी प्यालेस सञ्चालन गर्न यलम्बर अटो सेन्टरलाई उपलब्ध गराएका छन् । उक्त जग्गाको लम्बाइ ३० मिटर र चौडाइ ३५ मिटर रहेको छ ।
स्रोतका अनुसार मेहताले मिलोमतो गरेर अटो सेन्टरलाई सवारीसाधन मर्मतसम्भार गर्न वर्कसपका लागि जग्गा दिए पनि त्यहाँ अहिले यलम्बर पार्टी प्यालेस सञ्चालन गरिएको छ । दुई लाख ३९ हजार रुपैयाँ मासिक भाडा आउने गरी यसै आर्थिक वर्षको सुरुमा पाँच वर्षलाई जग्गा दिइएको हो ।
चार वर्षअघि रामशाहपथको करिब २५ रोपनी जग्गा नेसनल ट्रेडिङका तत्कालीन महाप्रबन्धक लक्ष्मणप्रसाद अग्रवाल र मेहता आफैं साक्षीसमेत रहेर ३० वर्षका लागि इन्फिनिटी स्ट्रक्चरलाई १६ तले मल्टिस्टोर भवन बनाउन भाडामा दिएका थिए ।
भाडा लागेकै बेला निमित्त महाप्रबन्धक मेहताले त्यसमध्ये केही जग्गा पार्टी प्यालेस सञ्चालन गर्न दिएका हुन् । एउटै जग्गा दुईपटकसम्म भाडामा लगाइएको स्रोतले बतायो । तत्कालीन व्यवस्थापिका संसद्को लेखा समितिले अर्को निर्णय नहुँदासम्म उक्त जग्गामा भवन निर्माण गर्न रोक लगाएको थियो ।