प्लाष्टिक एक्स्पो हुदै
काठमाडौं । नेपालमा पहिलोपटक आउदो कात्तिक २८ देखि ३० गतेसम्म प्लाष्टिक एक्स्पो आयोजना हुने भएको छ । प्लाष्ट नेपालको आयोजना हुन लागेको उक्त एक्स्पोमा प्लाष्टिकका सामग्रीको प्रदर्शनी तथा यसको प्रयोगका बारेमा जानकारी गराइनेछ । प्लाष्टिक उद्योगीलाई एक अर्काबीच सम्बन्ध विस्तार गर्न पनि एक्स्पो सहयोगी हुने प्लाष्ट नेपालका अध्यक्ष शरदकुमार टिवरेवालले बताए । नेपालमा प्लािष्टक उपयोगका विषयमा नकारात्मक प्रचार हुँदै गएकाले त्यसको वास्तविकता सार्वजनिक गर्न पनि एक्स्पो आयोजन गर्न लागिएको उनको भनाइ छ ।
एक्स्पोमा प्लाष्टिकको वास्तविक मूल्य, प्याकेजिङ, निर्माणलगायत यसको औद्योगिक सम्भावनाका विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । नेपालमा प्लाष्टिकको खपत बढ्दै गएकाले यस क्षेत्रमा लगानी गर्न चाहने व्यक्तिलाई समेत एक्स्पोमा आवश्यक जानकारी गराइने उपाध्यक्ष तथा एक्स्पो संयोजक आनन्दमल वैद्यले बताए ।
एक्स्पोमा अन्तरराष्ट्रिय प्रदर्शकको पनि सहभागिता रहनेछ । नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशका प्लाष्टिक उत्पादकको स्टल रहने आयोजकले बताएको छ । एक्स्पोमा १ सय ३० भन्दा बढी स्टल रहनेछन् । यसका लागि आयोजकले ४ हजार वर्गफिट क्षेत्रफलमा प्रदर्शनी स्थल निर्माण गरेको छ । प्लाष्टिक उत्पादन प्रक्रियासहित यसको पुनः प्रयोगका विषयमा अवलोकनकर्ताले एक्स्पोमा जिज्ञासा राख्न सक्नेछन् । प्लाष्टिक दैनिक आवश्यकताको वस्तु बन्दै गएकाले यसको उपयोगका विषयमा आममानिसमा सही जानकारी गराउन एक्स्पो प्रभावकारी सावित हुने विश्वास आयोजकको छ ।