भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं
काठमाडौं । भ्रष्टाचारको जालोलाई तोडौ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि यो दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार सभ्य समाज निर्माणको बाधक भएकाले सरकार देशमा सुशासन प्रबद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । भ्रष्टाचारका विविध रुप र आयामलाई केलाएर त्यसको कारक पहिल्याएर कार्यक्रम तर्जुमा गरी कार्यान्वयन नगरेसम्म भ्रष्टाचार निर्मूल पार्न कठिनाइ हुने उहाँको भनाइ छ ।
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले नेपाल सरकारले ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि कार्यन्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९’ बनाई लागू गर्दै आइरहेको बताउँदै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, अपराध अनुसन्धान ब्युरोलगायत भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थालाई थप सुदृढ र स्रोत साधनले सम्पन्न तुल्याइने बताउनुभएको छ ।
सरकारले भ्रष्टाचार न्युनीकरणका लागि प्रतिबद्ध रहेको बताएपनि नेपालमा भ्रष्टाचार बढीरहेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । गएको हप्तामात्रै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा गएको वर्षभन्दा भ्रष्टाचार बढेको छ ।