अर्घाखाँची सिमेन्टद्धारा उत्पादन सुरु

२०७१ मंसिर २४ गते, बुधबार

काठमाडौँ । भैरहवास्थित मैनहियामा स्थापित अर्घाखाँची सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताको संयुक्त लगानीमा स्थापित सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गरेलगत्तै व्यवसायिक रुपमा बिक्री गर्नेछ । करिब ३ अर्ब रुपैयाँको लगानी रहेको उद्योगमा स्वदेशी लगानीकर्ताको साढे ८२ प्रतिशत र विदेशी लगानीकर्ताको साढे १७ प्रतिशत लगानी रहेको छ । स्वदेशी लगानीकर्ताहरुमा मुरारका ग्रुपको ३० प्रतिशत, सिद्धार्थ ग्रुपको ३५ प्रतिशत र केडिया ग्रुपको १७ दशमलब ५ प्रतिशत लगानी रहेको छ । विदेशी लगानी भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको साढे १७ प्रतिशत रहेको हो । हाल परीक्षण उत्पादन गरिरहेको कम्पनीले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने उद्योगका सन्चालक पशुपति मुरारकाले बताए । नेपाल गुणस्तर चिन्ह प्राप्त भएकै दिनदेखि व्यवसायिक उत्पादन सुरु गरिने मुरारकाले बताए । नेपाल नापतौल तथा गुणस्तर विभागले गरेको परीक्षणमा अर्घाखाँची सिमेन्ट ‘पास’ भइसकेको बताइएको छ । उद्योगको दैनिक १ हजार मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता छ । विद्युत तथा सडकको गुणस्तर सुधारमा सरकारले सहयोग गरे उत्पादन लागत घट्ने र उत्पादन क्षमता दैनिक २ हजार ४ सय मेट्रिक टन पुर्‍याउन सकिने मुरारकाले बताए । आफ्ना लागि चाहिने क्लिङ्कर पनि उद्योग आफैंले नै उत्पादन गरिरहेको छ । अर्घाखाँची र पाल्पाबाट चुनढुंगा ल्याएर उद्योगले क्लिङ्कर उत्पादन गर्दै आएको हो । उद्योगलाई ३० वर्षसम्म कच्चापदार्थ अभाव नहुने मुुरारकाले बताए ।
अर्घाखाँची सिमेन्टले ‘ओपीसी’ सिमेन्ट मात्रै उत्पादन गर्ने छ । ठूला परियोजनालाई लक्षित गरी उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ ।
सरकारी मापदन्डअनुसार सिमेन्टको गुणस्तर ३३ एमपीए हुनुपर्नेमा अर्घाखाँची सिमेन्टको गुणस्तर दोब्बर अर्थात् ७२ एमपीए रहेको कम्पनीले जनाएको छ । २४सैं घन्टा सन्चालन भइरहने उद्योगमा उर्जा समस्याले लागत थप बढाएको मुरारकाले बताए ।कम्पनीले आफ्नै लगानीमा ६ मेगावाट विद्युत जेनेरेटरबाट उत्पादन गरिरहेको छ । लोडसेडिङको समयमा जेनेरेटरबाट उद्योग चल्छ । यसका लागि मात्रै २० करोड रुपैयाँ लगानी भएको उद्योगले जनाएको छ । उद्योगबाट ६ सयजनाले प्रत्यक्ष रोजगारी पाएको उद्योगका अर्का सन्चालक राजेश अग्रवालले उल्लेख गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु