तस्कर र प्रहरीबीच भिडन्त
काठमाडौ । पर्सामा आज बिहान चरेश तस्कर र प्रहरीबीच दोहरो फयरिङ भएको छ। माकवानपुरबाट तस्करले भारी परिमाणमा चरेश ल्याउँदै गरेको सूचना पाएर पुगेको अञ्चल प्रहरी कार्यालयको टोलीले फयरिङपछि १० बोरा धुलो चरेश बरामद गरेको छ।
पटेर्वा सुगौली नजिक रातभरी लुकेर बसेको प्रहरीले तस्कर टोली आएपपछि घेरा हाल्न खोजेको थियो। ‘उनीहरु ३० भन्दा बढी थिए, प्रहरी ९ जना,’ प्रहरी टोलीको नेतृत्व गरेका प्रहरी नायब निरिक्षक अरुण कुशवाहाले नागरिकन्युजलाई भने, ‘प्रहरी देख्नासाँथ उनीहरुले फयरिङ सुरु गरेपछि यताबाट जवाफी फयरिङ भयो। बिहान करिब ३ बजे १५ मिनेटसम्म गोली चलेपछि तस्करहरु पोका फालेर भागे।’ तस्करले करिब २५ र प्रहरीले ९ राउण्ड गोली चलाएका थिए।
दुबैतर्फ कुनै मानवीय क्षति भने भएको छैन्। संख्यामा तेब्बरभन्दा बढी रहेका उनीहरुले प्रहरीलाई नै घेर्न खोजेपछि अर्को ठाउँमा राखिएको ११ जनाको ‘रिजर्व’ टोली बोलाएको कुशवाहाले बताए। थप बल आउन अगाडि नै भागेका तस्करहरुलाई समात्न नसकिए पनि उनीहरुले छोडेको १० वटा पोकामा भारी परिमाणमा चरेश बरामद भएको उनले जानकारी दिए।बरामद भएको चार सय किलोभन्दा बढी परिमाणको चरेश ४० लाख रुपैयाभन्दा बढी मुल्यको छ। कारोबार र ओसारपसारमा प्रतिबन्ध रहेको चरेश सिमाना कटाएर भारत पुर्याउने बितिक्कै झण्डै दोब्बर मुल्यमा किनबेंच हुने गरेको छ।