माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आर्थिक संकटमा
काठमाडौ । ऋण प्रदायक संस्था र दोलखावासीले पाउने शेयर विवादले समग्र शेयर वितरण प्रक्रियामा ढिलासुस्ती भए पछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आर्थिक संकटमा परेको छ ।ऋण प्रदायक संस्था र नेपाल सरकारबाट लिएको भुक्तानीले ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७० प्रतिशतसम्म निर्माण सम्पन्न भएको र बांकी कामको भुक्तानी दिन शेयरबापत रकम संकलन कार्यमा ढिलासुस्ती भएको कारण आयोजना आर्थिक संकटमा परेको हो ।
आयोजनाको कार्य तालिका अनुसार शेयर वितरण ९ महिना अघि गरिसक्नु पर्ने थियो । विभिन्न चार लटका ठेकेदार कम्पनीहरुलाई गत कात्तिकसम्म करिब २० अर्ब ६ करोड भुक्तानी गरिसकेको आयोजनाले जनाएको छ ।
आयोजनालाई कामको प्रकृति हेरी मासिक सरदर ५० करोड आवश्यकता पर्छ । आयोजनाले स्वामित्व पूंजीका लागि शेयर वापत १० अर्ब ५८ करोड ७० लाख संकलन गर्नुपर्ने हुन्छ ।
सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले पाउने २४ प्रतिशत शेयर अर्थात २ अर्ब ५४ करोड र दोलखावासीले पाउने १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ८७ लाख शेयरमा विवाद बढे पछि नागरिक लगानी कोषले शेयर निष्काशन गर्न नसकेको हो ।
निर्माण अवधिको व्याज बाहेक आयोजनाको अनुमानित कूल लागत ३५ अर्ब २९ करोड रहेको छ । जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वामित्व पूंजी रहेको छ । ऋणको व्याज, सुरुङको डिजाइन परिवर्तन र ड्याममा समेत लागत बढ्न गई करिब ४१ अर्ब खर्च हुने आयोजनाले अनुमान गरेको छ ।