नेवानि ‘सगरमाथा’ भित्र्याउँदै
काठमाडौं,२५ माघ ।- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज पाउने भएको छ । फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।
आज आइपुग्ने जहाजको नाम सगरमाथा राखिएको छ । झण्डै २५ वर्षदेखि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ । नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज पनि आइपुग्ने छ । यसको नाम चाहिँ लुम्बिनी रहनेछ । निगमले ल्याउने जहाजमा १ सय ५० सिट हुन्छन् । निगमले भने यसमा सिट बढाएर १ सय ६४ बनाएको छ ।
हाल निगमको दुईवटा जहाज काठमाण्डूबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगित गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ । नयाँ जहाज आएपछि ती ठाउँमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ ।
निगमले अहिले सञ्चालनमा ल्याइरहेको जहाज २०४३ र २०४४ सालमा किनेको थियो । त्यसयता निगमले आधादर्जन पटक जहाज ल्याउने प्रयास गरेपनि सफल भएको थिएन । केही महिना पहिले निगमले चीनमा निर्मित एम ए ६० र वाइ १२ मोडलका दुईवटा जहाज ल्याइसकेको छ । एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ ।