आगलागी हुँदा ७५ लाख रुपैंया बराबरको क्षति
काठमाडौँ, ४ फागुन – भक्तपुरको मध्यपुरथिमि नगरपालिका १६ लोकन्थलीका दुई वटा उद्योगमा भिषण आगलागी हुँदा ७५ लाख रुपैंया बराबरको क्षति भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडसंगै रहेको उप्रेती कटन ईण्डस्ट्रिज र गणेश कपास उद्योगमा एकैपटक आगलागी भएको हो ।
आगोलागीबाट दुईवटै उद्योगको ६ वटा मेशिन, लाखौ बराबरको कपास, फर्निचर र बिभिन्न सामान गरि ७५ लाख रुपैंया बराबरको क्षति भएको दुईवटै उद्योगका संचालक दोलखा पोवटी ५ घरभई लोकन्थली बस्ने बलराम उप्रेतीले जानकारी दिए ।
राती २ बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको उनले बताए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली तथा दमकलको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा लिएको थियो ।