बिजुली चोर उद्योगहरु
काठमाडौ, ७ फागुन। विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रुपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ । यसले मिटरमा बिजुली कम खपत देखाएर प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सानीमा पारेको छ ।यसरी नोक्सानी गर्नेलाई प्राधिकरणले विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत फाइल उठाउनुपर्नेमा अधिकांश बिजुली चोर्ने ग्राहकलाई ‘छुट बिल’ को फाइल उठाएर उन्मुक्ती दिँदै आएको पनि खुलासा भएको छ । ऐनअन्तर्गत फाइल उठाउँदा बिगोको शतप्रतिशत जरिबाना तिर्नुपर्छ भने छुट बिलअन्तर्गत अनुमानित उर्जा खपत गरेको तथ्यांकका आधारमा रकम तिरे पुग्छ । ‘बिजुली चुहावटका अधिकांश फाइल छुटअन्तर्गत आउँछन्,’ प्राधिकरण वितरण तथा ग्राहक सेवाका एक इलेक्ट्रिकल इन्जिनियरले भने ।
तीनसाताअघि प्राधिकरणको केन्द्रीय कार्यालयअन्तर्गतको विद्युत् चुहावट तथा नियन्त्रण महाशाखाले गरेको फिल्ड अनुगमनमा अधिकांश ठूला उद्योगको कम बिजुली खपत गरेको देखिएको छ । वीरगन्जको एक दर्जन उद्योगले टीओडी मिटरमा प्राविधिक तवरले दुरुस्त हुनेगरी विभिन्न तार जडान गर्नुपर्नेमा जथाभावी तार छिराएर कम बिजुली खपत गरेको देखाएको भेटिएको छ ।
मिटरमा प्राविधिक गडबडी गराएर प्राधिकरणलाई करोडौं रुपैयाँ घाटा पारेका वीरगन्जका उद्योगहरुमा अन्नपूर्ण स्टिल इन्डष्ट्रिज,आदर्श पोली प्लाष्टिक प्रालि,जगदम्बा सिमेन्ट,सनराइज फुड नेसनल हेल्थ केयर ,क्वेस्ट फर्मा र मीनाक्षी प्रडक्ट छन् । त्यसैगरी वीरगन्जकै ओम एग्रो प्रडक्ट र आदर्श आयल इन्डष्ट्रिजले पनि मिटरमा प्राविधिक गडबड गराई कम बिजुली खपत गराएको भेटिएको छ ।
विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गत १७ वटा ठूला ग्राहकका मिटरमा पनि समस्या देखिएको छ । विराट हेल्थ एन्ड फुड प्रोडक्ट्सले २०७१ जेठदेखि मीटरको डिस्प्ले नै बन्द गरेको छ ।