चितवनमा अनिश्चितकालिन होटल बन्द
काठमाडौं, ११ फागुन । सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्लाभित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ । मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने संघका जिल्ला अध्यक्ष डासीराम ढकालले जानकारी दिए ।
ढकालले जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यको विरुद्वमा आन्दोलनमा उत्रनु परेको बताए । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ५० भन्दा बढीलाई पक्राउ गरेको थियो ।
प्रहरीले छापा मार्ने क्रममा होटलमा बास बसेका श्रीमान श्रीमतीलाई समेत पक्राउ गरेर यौन व्यवसायी बनाउन थालेपछि होटल व्यवसायी आन्दोलनमा उत्रिएको बताइएको छ।