डलरको मूल्य आकासियो
काठमाडौ । विश्व बजारमा अमेरिकी डलरको मूल्य आकासिएको छ । अब विदेशमा आर्जन गरेको पैसा नेपाल पठाउनेलाई फाइदा हुने भएको छ । विश्व बजारमा अमेरिकी डलर मजबुत भएकाले प्रति डलर मूल्य फेरि एक सय रुपैंया भन्दा माथि पुगेकेा छ । झण्डै दुई महिना पछि डलर पुनः तीन अंकमा पुगेको हो। यो बृद्धिले विदेशमा डलर आर्जन गरि नेपाल पैसा पठाउनेलाई फाइदा हुनेछ ।
नेपालमा बैकिङ प्रणाली मार्फत दैनिक १ खर्व ५० करोड भन्दा बढी रेमिट्यान्स भित्रिन्छ। हुण्डी मार्फत आउने पैसा पनि जोड्ने हो भने रेमिट्यान्स भन्दा निकै वढी हुन्छ। झण्डै ६० प्रतिशत घरपरिवारका कुनै न कुनै सदश्य विदेशमा भएकाले रेमिट्यान्स मार्फत आउने पैसा प्राप्त गर्छन्। डलर मूल्यका आधारमा अधिकांश विदेशी विनियम दर निर्धारण गरिने हुँदा यो बृद्धिले रेमिट्यान्स पाउने परिवार र डलर कमाउने व्यवसायी फाइदामा हुनेछन्।
राष्ट्र बैंकले बुधवारका लागि प्रति डलर बिक्री दर १ सय रुपैंया ७२ पैसा तोकेको छ। बैंकलाई डलर विक्री गर्दा यो भन्दा ६० पैसा कम १ सय रुपैंया १२ पैसा विनियम दर निर्धारण गरेको छ। भारतमा निर्धारण हुने विदेशी विनियम दरका आधारमा नेपालमा डलर लगायत अन्य विदेशी मुद्राको भाउ तल माथि हुने गरेको छ। नेपालले एक सय भारू बराबर एक सय ६० रुपैंया स्थिर विनियम दर तोकेकाले ठूलो अर्थतन्त्र भएको भारतले निर्धारण गर्ने विनिमय दरपछ्याउनु परेको हो। आर्थिक बृद्धिमा चीनलाई समेत उछिनेको भारतमा भारू २५ पैसाले खस्किएर प्रति डलर ६२ रुपैंया ८० पैसा पुगेको छ।
डलरसँग अमेरिकाको केन्द्रिय बैंक फेड्रल रिजर्भले आगामी जुनमा बैंक दर संशोधन गरी बढाउन सक्ने अनुमानले विश्व बजारमा डलर माग बढेको हो। विश्व बजारका लगानीकर्ताहरु हरियो नोट डलर प्रति आकर्षित हुँदा मंगलवार अमेरिकाको प्रमुख सेयर सूचकांकहरु तल झरेका छन्। विश्व कै प्रतिष्ठित न्यूओर्क स्टक एक्स्चेञ्जमा सुचिकृत सेयर सुचकांक डोनजोन्स मंगलवार ३३२ अंकले तल झर्यो। यसको असर युरोप, भारत लगायत एशियाका सेयर बजारमा परेको छ।
अमेरिकामा बेरोजगारी कम हुनु र युरो क्षेत्रका देशको अर्थतन्त्र समया मुक्त भईनसक्दा डलरसँग युरो खस्किएको हो। डलर असर तेल बजारमा पनि परेको छ। अमेरिकी बजारमा कच्चा तेल मूल्य प्रति व्यारेल ५० डलर भन्दा तल झरेको छ।
युरो क्षेत्रमा वस्नेलाई भने मजबुत डलरले नोक्सान पुर्याएको छ। प्रति युरो विनियम दर एक दिन अघि भन्दा केही खस्किएको छ। यस क्षेत्रवाट नेपाल पैसा पठाउँदा भने एक दिन अघि भन्दा कम हात पर्ने छ। मलेसिया मुद्रा रिंगेटपनि केही खस्किएको छ।
एक बर्ष यता डलर मजबुत छ। अष्ट्रेलिया र क्यानडाको पैसा भने खस्किएका छन्। कुनै समय अमेरिकी डलर भन्दा पनि मजुबत भएको अष्ट्रलियन डलर खस्किएर हाल ७६ रुपैंया हाराहारी आएको छ। क्यानडियन डलरपनि कुनै वेला अमेरिकी डलर हाराहारीमा पुगेकेा थियो। अहिले यसको मूल्य ८० रुपैंयाको हाराहारीमा तलमाथि भईरहेकेा छ।
डलर मजबुत हुँदा अमेरिकामा कमाएर नेपाल पठाउने मात्र होइन समान निकासी गरी डलर प्राप्त गर्नेलाई फाइदा हुने छ। करोडौ रुपैंयाका नेपाली हस्तकला अमेरिका निकासी हुदैं आएको छ।