मेलम्चीको ठेकेदारद्वारा तत्काल १० करोड रुपैयाँ भुक्तानी गर्न माग
काठमाडौं, २९ फागुन । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन को-अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले थप भुक्तानी नपाए सुरुङ खन्ने काम नै रोक्ने चेतावनी दिएको छ । आर्थिक समस्या भएको जिकिर गर्दै उसले तत्काल थप १० करोड रुपैयाँ भुक्तानी पनि मागेको छ । आयोजना विकास समितिले उसको माग अस्वीकार गरिसकेको छ ।
ठेक्का सम्झौतालगत्तै समितिले उसलाई कुल ठेक्का रकमको २० प्रतिशत अर्थात १ अर्ब ७२ करोड रुपैयाँ परिचालन पेस्की रकम दिइसकेको छ । ७ अर्ब ७० करोड रुपैयाँमा समिति र सीएमसीबीच ठेक्का सम्झौता भएको हाे ।
परिचालन पेस्की बराबरको काम नगरेपछि हामी उसलाई थप रकम दिने पक्षमा छैनौं, मेलम्चीका एक अधिकारीले भने, ‘काम गरेको भन्दा थप रकम मागेर उसले सुरुङ खन्ने गतिलाई घटाउँदै लगेको छ ।’
उसले मासिक १२ सय मिटरसम्म सुरुङ खन्ने कार्ययोजना प्रस्तुत गरे पनि हाल घटाएर ६ सय मिटरमा भारेको ती अधिकारीले बताए । ठेक्का सम्झौता भएको डेढ वर्षमा उसले साढे ४ किलोमिटरमात्र सुरुङ खनेको छ । यसअघि ठेकेदार चाइना रेल्वे-१५ व्युरो कर्पोरेसनले ६ किलोमिटर सुरुङ खनेपछि ठेक्का तोडिएको थियो ।