आज पनि निःशुल्क बस सेवा
काठमाडौं, १७ बैशाख । शनिबार आएको भूकम्पपछि चार लाख भन्दा बढी मानिसले काठमाडौं छोेडेका छन् । विभिन्न नाका हुँदै काठमाडौंबाट ४ लाख भन्दा बढी यात्रु बाहिरीएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।
सरकारले बुधबार काठमाडौं छोड्न चाहने झण्डै ४५ सय जनालाई निःशुल्क इटहरी र बुटवलसम्म पु¥याएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार बुधबार जान नपाएकालाई बिहीबार पठाइनेछ ।
त्यसका लागि बुधबार नै गाडीको कुपन वितरण गरिएको छ । बिहीबार पाँच हजार जना यात्रु काठमाडौंबाट इटहरी र बुटवल जाने प्रवक्ता खत्रीले जानकारी दिनुभयो । यी यात्रुका लागि नयाँ बानेश्वरमा गाडीको व्यवस्था गरिएको छ ।
यस्तै धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समिति बागलुङले पनि निःशुल्क गाडी चलाउँदैछ । त्यसका लागि नयाँ बसपार्क गाेंगबुमा ३० वटा गाडी तयारी अवस्थामा राखिएको समितिले जनाएको छ । समितिले बुधबार धौलागिरीका झण्डै १२ सय यात्रुलाई निःशुल्क सेवा दिएको थियो ।