यातायात व्यवसायीले बढी भाडा असुलेको यात्रुको गुनासो
काठमाडौँ, २० वैशाख । भूकम्पले राष्ट्रिय शोक परिरहेका बेला केही यातायात व्यवसायीले भने यसलाई लुट्ने अवसरका रुपमा उपयोग गरेको भन्दै यात्रुले यस्ता क्रियाकलाप रोक्न सरकारसँग माग गरेका छन् ।
नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भूकम्पबाट घाइते भई उपचार गराइरहेका बिरामीलाई भेट्न जाँदा जोरपाटी माइक्रो बस व्यवसायी सङ्घबाट सञ्चालित यातायातले मनपरी भाडा असुल गरेको पीडित यात्रुले गुनासो गरेका छन् ।
“कलेजमा उपचाररत आफन्तलाई भेट्न आएको थिएँ, यस मार्गमा चल्ने बा१ज ८६८६ नं को माइक्रो बसले रत्नपार्कदेखि कलेजसम्म रु ५० भाडा माग्यो, यसअघि रु २५ मा माइक्रोमा यात्रा गर्न सकिन्थ्यो”– पीडित यात्रु रामकुमार बजगाईंले भन्नुभयो ।
कलेजमा भूकम्पपीडित करिब ३०० घाइते उपचार गराइरहेका छन् । घाइतेलाई भेट्न आफन्तको आवतजावत बढ्ने अवसरलाई उपयोग गर्दै सवारी साधनले मनपरी भाडा लिएका हुन् । सरकारले सार्वजनिक सञ्चारमाध्यममार्फत बढी भाडा लिने सवारी साधनका विषयमा १०३ नं फोनमा जानकारी गराउन सूचित गरे यो नम्बरको फोन नउठेको अर्का पीडित यात्रु मनिता महर्जनले गुनासो गर्नुभयो ।
यता सुन्दरीजल मार्गमा चल्ने सिटी यातायातले भने जहाँ पनि चलाउन पाइने गरी सरकारले सवारी सञ्चालन अनुमति खारेज गरेकाले आफूलाई मन लागेका ठाउँमा चलाउन थालेका छन् । सुन्दरीजल–रत्नपार्क मार्गमा १५ मिनेटको फरकमा सवारी साधन चल्ने भए पनि अहिले सङ्कटका समयमा चाबहिल गएपछि गाडी रत्नपार्क अथवा बालाजुतिर जता पनि जानसक्छ भनी अन्योलमा पार्ने गरेको यात्रु राजेन्द्र श्रेष्ठले गुनासो गर्नुभयो । “यस मार्गको बा१ज ७१९८ नं को गाडीले गुन्डा राखेर मन लागेको स्थानमा मन लागेजति भाडा लिएर चलाउने गरेका छन्”–उहाँले भन्नुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा भूकम्पपछिको समयमा धेरै यातायातले बढी भाडा लिएको गुनासो आएको जनाएको छ । महाशाखामा भूकम्पपछिको समयमा बढी भाडा लिएका धेरै गुनासो आएकाले कुनै फोन कहिले नउठेका पनि हुनसक्ने प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो । बढी भाडा असुल्ने सवारी साधनलाई सार्वजनिक अपराधको मुद्दा लगाइएकोसमेत उहाँले जानकारी दिनुभयो । “धेरै सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था विभागमा लेखी पठाएका छौँ”– उहाँले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला केही सवारी साधनले सङ्कटको यो घडीमा समेत यात्रु ठगेको अनुगमनका क्रममा प्रत्यक्ष फेला पारेकाले विभागलाई यस्तो कुकृत्य दोहो¥याउने सवारी साधनको सवारी सञ्चालन अनुमति खारेज गर्न माग गरिएको बताउनुहुन्छ ।
विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीसँग यस सम्बन्धमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा प्रवक्ता वसन्त अधिकारीको ९८४१२२३८८३ मा सम्पर्क गर्न भन्नुभएकामा यस नम्बरमा पटक–पटक सम्पर्क गर्दा पनि फोन सम्पर्क हुन सकेन । – रासस