महानगरका सात हजार बढी घर क्षतिग्रस्त
काठमाडौँ, २० वैशाख । भूकम्पबाट काठमाडौँ महानगरपालिकाका सात हजार ४९६ घर क्षतिग्रस्त भएका छन् ।
काठमाडौँ महानगरपालिकाका अनुसार व्यक्तिका एक हजार ६५५ घर पूर्ण रुपमा ध्वस्त भए भने पाँच हजार ७९७ घरमा आंशिक रुपमा क्षति पुगेको थियो ।यसैगरी २३ वटा सार्वजनिक भवन तथा विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त र २१ वटामा आंशिक क्षति भएको छ ।
यसैबीच भूकम्पका कारण बागदरबारस्थित महानगरपालिकाको कार्यालयमा क्षति भएपछि महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सरेको छ ।
यसैबीच सहरी विकास विभागले काठमाडौँ उपत्यकाका नगरपालिकाका इञ्जिनियरलाई उपत्यकामा जोखिममा रहेका घरको व्यवस्थापनका लागि आज एक दिवसीय प्रशिक्षण प्रदान गरेको छ ।
प्रशिक्षणमा बस्न योग्य घरको अध्ययन, इँटाबाट बनेको घरको जोखिम , पिलरवाला घरको जोखिम कुन जोखिमलाई सामान्य मान्ने, सडकमा बसेकालाई घरमा सर्न आश्वास्त पार्ने, चर्किएका घरको क्षति मूल्याङ्कनलगायत विषयमा प्रशिक्षण दिइएको इञ्जिनियर उत्तर रेग्मीले जानकारी दिनुभयो । – रासस