उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास
काठमाडौ २७ वैशाख । उत्तरी गोरखाका छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको छ । भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए । भूकम्पले उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास आदि गाविसमा पर्याप्त मात्रामा खाद्यान्नलगायत राहत सामग्री वितरण गर्न सकिएको छैन । ती नाका वर्षमा एक पटक साउन महिनामा मात्रै खुल्ने गरेको छ । नाका खुलेपछि उत्तरी गोरखाका भूकम्पपीडितले तिब्बती बजारबाट खाद्यान्नलगायत सामग्री किनमेल गर्न पाउँछन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले हेलिकोप्टरको अपर्याप्तताले गर्दा उत्तरी भेगमा राहत सामग्री ढुवानीमा समस्या भएको जनाएको छ । मोटरबाटो नभएको उत्तरी गोरखाका १८ गाविसमा राहत सामग्री पुर्याउन हेलिकोप्टरको भर पर्नुपर्छ तर पर्याप्त हेलिकोप्टर नहुँदा भूकम्पपीडित अझै पनि त्रिपालको पर्खाइमा रूखमुनि बास बसेका छन् ।अहिलेसम्म हेलिकोप्टरले ढुवानी गरी उत्तरी गोरखा पुर्याएको खाद्यान्न अपर्याप्त भएको भूकम्पपीडितले जनाएका छन् । लाखौँ खर्च गरी हेलिकोप्टरबाट हजारौँको सामान ओसार्नुभन्दा खच्चर हिँड्ने बाटो (मनास्लु पदमार्ग)मा गएको पहिरो हटाउन भूकम्पपीडितले माग गरेका छन् । नेपाली सेनाको टोलीले पदमार्ग खुलाउने तयारी गरेको छ ।
यसैबीच, आज बिहान रसुवागढी भन्सार कार्यालयको गोदाममा आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ । स्थानीय व्यवसायी वृद्धिम निवासी नुर्पु तमाङका अनुसार भन्सार कार्यालयले बनाएको जस्तापाताको टहरोभित्र जाँचपासका लागि राखिएका सामग्री सम्पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
यसैबीच विनाशकारी भूकम्पबाट रसुवाका १८ गाविसको पछिल्लो तथ्याङ्कअनुसार ५२२ जनाको मृत्यु भएको छ ।त्यस्तै आठ हजार पाँच सय घर भत्किएका छन् । प्रारम्भिक तथ्याङ्कका आधारमा खाद्यान्नलगायत राहत सामग्री वितरणका लागि गाउँ गाउँमा कर्मचारी खटाइएको सहायक प्रजिअ गौतम रिमालले जानकारी दिए ।उनका अनुसार राहत वितरणका लागि छ करोड २६ लाख ३३ हजार रूपैयाँ जिम्मेवार कर्मचारीका साथ ठाउँ ठाउँमा पठाइसकिएकाले हप्ता दिनभित्र राहत वितरण सम्पन्न हुने छ ।