प्रधानमन्त्री राहत कोषमा १ अर्व ३६ करोड
काठमाडौ, । भूकम्प गएको १७ औं दिन सबैभन्दा बढी करिब ४० करोड रुपैयाँ रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ । यससँगै कोषमा बल्ल सवा अर्ब रुपैयाँ रकम जम्मा हुन पुगेको आजको कान्तिपुरका समाचार छ । । सोमबारसम्म १ अर्ब ३६ करोड ७५ लाख २३ हजार रुपैयाँ जम्मा भएको छ । सोमबार चेकमात्रै प्राप्त भएको आधारमा भने झन्डै पौने दुई अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार एसियाली विकास बैंकको करिब ३० करोड, सूर्य नेपालको १० करोड, एभरेस्ट बैंकको ५० लाख र सिल्भर हेरिटेडको २२ लाख रुपैयाँको चेक प्राप्त छ । यी निकायको रकम जम्मा भने हुन बाँकी छ । प्रधानमन्त्री कार्यालयले जनाएअनुसार कोषमा रकम जम्मा भएको आधारमा १ करोड रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने व्यक्ति, संघसंस्था तथा निकायको संख्या २१ छ । त्यसमध्ये ६ वटा निकायले १० करोड रुपैयाँ बुझाएका छन् । अहिलेसम्मकै सबैभन्दा बढी नेपाल टेलिकमले २५ करोड रुपैयाँ बुझाएको छ । कोषले जनाएअनुसार उसले दिएको रकम सोमबार जम्मा गरिएको हो । चेक आइतबार बुझाएको थियो । यसबाहेक टेलिकमका कर्मचारीहरूले २ करोड १ लाख ५७ हजार रुपैयाँ छुट्टै जम्मा गरेका छन् । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले ५ करोड रुपैयाँ कोषमा सोमबार जम्मा गरेका छन् । प्राधिकरणका कर्मचारीले पनि ५ लाख ८७ हजार रुपैयाँ कोषमा जम्मा भएको विवरणमा उल्लेख छ ।
उक्त आधारमा कोषमा सबैभन्दा बढी रकम भूकम्प गएको १७ औं दिन सोमबार जम्मा भएको हो । सोमबार मात्रै ३९ करोड २१ लाख रुपैयाँ जम्मा भएको हो । कोषमा आइतबारसम्म ९७ करोड ५३ लाख रुपैयाँ जम्मा भएको थियो । सोमबार नै नेपाल सरकारका कर्मचारीहरूबाट मात्रै ३ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ । अहिलेसम्म निजामती र संस्थानका कर्मचारीबाट १६ करोड ७२ लाख रुपैयाँ जम्मा गरेका छन् । नेपाल प्रहरीले १० करोड र सशस्त्रले ६ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।