इलाममा आधादर्जन सरकारी कार्यालय क्षतिग्रस्त
काठमाडौं,१ जेठ । गतवैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण जिल्लाकै सबैभन्दा पुरानो अड्डा चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ । विसं १९२० मा बडाहाकिम गजराजसिंह थापाको पालामा निर्माण भएको जिल्ला प्रशासनको डेढ शताब्दी पुरानो भवन चर्किएर बस्नै नहुने अवस्थामा पुगेको हो ।उक्त भवनबाटै जिल्ला प्रशासनबाट सम्पादन हुने कार्य सञ्चालन भइरहेको थियो । भवन जताततै चर्किएपछि अघिल्तिर रहेको एक तले भवनबाट सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए ।
राणाकालीन भवनबाट राहदानी, नागरिकता, मुद्दा, सङ्घसंस्था, दर्ता चलानी, अनुसन्धानलगायत सबै काम हुँदै आएको थियो । जिल्लामा डेढ शताब्दी पुराना दुई ठूला भवन छन् । एउटामा जिल्ला प्रशासनको काम र अर्कोमा प्रमुख जिल्ला अधिकारीको निवास र उच्च ओहोदाका पाहुना आउँदा बस्ने गरिन्थ्यो ।
भवन चर्किएपछि प्रजिअ बासुदेव दाहाल जिल्ला कारागार शाखाको आवासमा र सहायक प्रजिअ आफन्तकामा बस्दै आएका छन् । यो भवनसहित जिल्ला प्रहरी, मालपोत, इलाम नगरपालिकालगायत आधादर्जन सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जानकारी सहायक प्रजिअ फागोले बताए ।