वृद्धाश्रम भत्कियो, ज्येष्ठ नागरिकको अवस्था दयनीय

२०७२ जेष्ठ ३ गते, आईतवार

काठमाडौं, ३ जेठ । पटक पटकको भूकम्पका कारण पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्र वृद्धाश्रम भत्किएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय बन्न पुगेको छ ।
भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि त्यहाँ रहेका दुर्इ सय ३० ज्येष्ठ नागरिकलाई खाना पकाउने र खुवाउने स्थानमा सारिएको छ । लामो समयदेखि वृद्धाश्रममा नै आश्रय लिइरहेकी ९१ वर्षीया रमा केसीलाई यो भूकम्पले निकै सास्ती दिएको छ । “राम्ररी हिँड्डुलसमेत गर्न सक्दिन, भूकम्प आउँदा मन्दिरकै आडमा थिएँ, अब त भगवानकै शरणमा जाने भइयो भन्ने सोचेको थिएँ, बाँच्न लेखेको रहेछ’-उनले भनिनन् ।
उनले आड लिएको पञ्चदेवल मन्दिर लगभग लड्ने अवस्थामा पुगिसकेको छ । केही न केही बिसन्चो भइरहने ७५ वर्षीय नरसिकमान श्रेष्ठ भूकम्पका बेला पनि सञ्चो नभएर सुतिरहेका थिए । भूकम्पले हल्लाउँदा उनलार्इ आफैँ हल्लिएको जस्तो लागेको थियो । उनी भन्छन् -‘भूकम्प आउँदा भाग्न खोजे पनि सकिन, एक त ढल्कँदो उमेर, अर्को बिसन्चो ज्यान, यस्तोमा भाग्न नसकेपछि लडेर बसेँ ।’ अहिले पनि उनले औषधिको प्रयोग गरिरहेका छन् ।
दृष्टिविहीन ७२ वर्षीय लीलाबहादुर राउतलाई भूकम्पले झन् आतङ्कित पारेको छ । बस्ने ठाउँको अभाव भएकाले बारम्बारको भूकम्पको धक्काले झन् समस्यामा पार्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए ।
वृद्धाश्रमका प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने गरी भत्किएको र दक्षिणपट्टिको भाग सुरक्षित भनिए पनि त्यहाँ टेको लगाएर अड्याइएको बताए । भूकम्पलगत्तै ज्येष्ठ नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बताउँदै उनले भने-‘वृद्धाश्रमको उत्तरपट्टिको मुख्य भागमा ३७ ज्येष्ठ नागरिकलाई तत्काल राखिएको र अरूलाई खाना पकाउने र खुवाउने स्थानमा राखिएको छ ।’
वृद्धाश्रमको चउरमा राख्ने भनिएपछि ज्येष्ठ नागरिकको स्वास्थ्यलगायतको अवस्था प्रतिकूल रहने भएकाले त्यसो गर्न नसकिएकाले जस्ताले बारेर भए पनि खाना पकाउने ठाउँमा नै उनलाई राखिएको बस्नेतले बताए । उनले भने-‘ती स्थानमा अहिले पनि बर्सात्मा पानी चुहिने समस्या भएकाले टालटुल गर्दै बसोबासको व्यवस्था मिलाएका छौँ, वृद्धाश्रम परिसरमा रहेको पञ्चदेवलको मन्दिरले पनि जोखिम बढाएको छ, मन्दिर पूर्ण रुपमा क्षति पुगेकाले बर्सात्मा मन्दिर ढल्न सक्ने सम्भावना छ ।’आफूले सम्बन्धित निकायमा सोबारेमा सम्पूर्ण जानकारी गराइसकेको भए पनि वैकल्पिक बसोबासका लागि केही व्यवस्था हुन नसकेको उनको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार