सरकार पुनर्लाभको कार्यक्रम ल्याउदै
काठमाडौं,७ जेठ । गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखाले शिघ्र पुनर्लाभको कार्यक्रम अघि बढाउने तयारी गरेकोबताइएको छ ।महाशाखाका प्रमुख रामेश्वर दंगालका अनुसार कुनै पनि ठूला विपत्तिपछि राहत र उद्धारको कामपछि दीर्घकालिन योजना बनाउनुपूर्व हुने कामलाई शिघ्र पुनर्लाभ भनिन्छ ।
यो समयमा विशेषगरी अस्थायी बसोबासको तयारी, बाटो खुलाउने लगायतका जनजीवन सामान्य बनाउन सहयोग हुने काम गरिन्छ । उहाँका अनुसार अहिले शिघ्र पुनर्वासको लागि अस्थायी बासस्थानमा सहयोग गर्ने, त्यसको लागि १५ हजार रुपैँया दिने, विद्यालय खुलाउने, स्वास्थ चौकी चलाउने, सरकारी कार्यलयले पनि पुन सेवा संचालन गर्ने लगायतका काम हुनेछ ।
योसँगै दोलखा, सिन्धुपाल्चोक लगायतका विकट ठाउँमा राहत र उद्धारको काम अझै बाँकी रहेको विपत् महाशाखा प्रमुख दंगालको भनाई छ । ति स्थानमा पुग्न बाटो खुलाउने र राहत लाने काम भइरहेपनि सकिएको छैन । शिघ्र पुनर्लाभको कार्यक्रमपछि दीर्घकालिन योजनाको काम हुनेछ । त्यसको लागि योजना आयोगले विपत पश्चातको आवश्यकता लेखाजोखा गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
अहिले भूकम्पबाट भएका क्षतिको विवरण संकलन भइरहेको र विवरण संकलनको काम सकिएपछि दीर्घकालिन निर्माणको काम हुनेछ ।