पुनःनिर्माणका लागि ६ खर्ब ६६ अर्ब चाहिने
काठमाडौं, ३० जेठ । राष्ट्रिय योजना आयोगले गत बैशाख १२ गते गएको भूकम्पले पुर्याएको क्षतिको अध्ययन गरि पुनःनिर्माण लागि चाहिने रकमको आंकलन गरेको छ । आयोगको नेतृत्वमा सम्पन्न अध्ययनले क्षति पुगेका र भूकम्पमा पूरै गुमेका संरचनाको निर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्ने निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेलले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रवार साँझ बुझाएका थिए ।
योजना आयोगको नेतृत्वमा विश्व बैंक, एशियाली विकास बैंक, जापान, भारत लगायतका विज्ञ संग्लग्न टोलीले करिब तीन साता लगाएर प्रतिवेदन तयार पारेको हो ।‘विपत्तिपछिको आवश्यकताको आंकलन’ नाम दिएको सो अध्ययनले भूकम्पले असर पुर्याएका २३ ओटा विभिन्न क्षेत्रमा क्षतिको अध्ययन गरेको थियो ।
सबैभन्दा धेरै क्षति निजी तथा सरकारी भवनमा पुगेको छ । त्यसपछि पर्यटन, शिक्षा, कृषि र स्वास्थ क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले गर्ने यस्तो आंकलनको विश्वसनीयता दातृ राष्ट्र र निकायलाई पनि होस् भन्ने सोचले सरकारले सो अध्ययनमा विदेशी दातृ निकायका प्रतिनिधिहरुलाई पनि संग्लन गरेको हो ।
तीन सातामा सम्पन्न गरिएको यो अध्ययनको आंकलन पूर्ण भने होइन । असार १३ गते काठमाडौंमा गर्न लागिएको दातृ निकायको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गर्न छोटो समयमा नै गरिएको यो प्रारम्भिक अध्ययन मात्र हो । क्षेत्रगत तहमा पछि विस्तृत अध्ययन गरिने बताइएको छ ।