मायोज र म्यागी ब्राण्डका चाउचाउ बिक्रीमा प्रतिबन्ध
काठमाडौं, ३२ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई वटा ब्राण्डका चाउचाउको बिक्रीमा रोक लगाएको छ । विभागले नेपाली उत्पादन मायोज र भारतबाट आयातित म्यागी ब्राण्डका चाउचाउको बिक्रीमा रोक लगाएको हो । यी दुई ब्राण्डका चाउचाउले उपभोक्तालाई झुक्याउने प्रचार गरेका कारण बिक्रीमा रोक लगाउने निर्णय गरिएको विभागका अधिकारीले जनाएका छन् । मायोज र म्यागीले चाउचाउको लेवलमा नो एडेड एमएसजी लेखेको तर नमुना परीक्षण गर्दा दुवै ब्राण्डमा एमएसजी भेटिएको उनीहरुको भनाई छ ।
विभागका अधिकारीले अनुसन्धान पूरा नभएसम्मका लागि दुवै चाउचाउको बिक्रीमा रोक लगाइएको बताए । खाद्य प्रविधि ऐन २०२३ अनुसार भ्रामक प्रचार गरेको प्रमाणित भएमा म्यागी र मायोजले आफ्ना सबै चाउचाउ बजारबाट फिर्ता गर्नुपर्छ । साथै दुवै उद्योगले एक÷एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ ।
एमएसजी अर्थात मोनोसोडियम ग्लुटामेटा अखाद्य वस्तु होइन । चाउचाउमा एक प्रतिशत एमएसजी हुनुलाई मापदण्ड अनुसार नै मानिन्छ । विभागले गरेको म्यागी, मायोज, वाइवाइ, एमएम लगायतका विभिन्न चाउचाउको नमुना परीक्षण गर्दा सबै चाउचाउमा मापदण्ड अनुसार नै एमएसजी भेटिएको छ ।
सिसाको मात्रा २ दशमलव ५ पिपिएम भन्दा बढी फेला परे चाउचाउ अखाद्य मानिन्छ । तर परीक्षण गरिएका सबै चाउचाउमा सीसाको मात्रा पनि मापदण्डको परिधिभित्रै रहेको विभागका अधिकारीहरुले जनाएका छन् ।