पेट्रोल ट्याङकर रित्तै फर्किए
काठमाडौं,८ असोज । गएराति पेट्रोलियम पदार्थ भर्न रक्सौल जान गुडेका १३० वटा नेपाली ट्याङकरहरु सीमा क्षेत्रबाट रित्तै नेपाल फिर्ता भएका छन् । तराईमा आन्दोलनरत समूह नेपाल भारतको सिमामा रहेको मितेरी पुलमा धर्नामा बसेपछि भारत प्रवेश गर्ने अवस्था नभएका कारण ट्याङ्कर फिर्ता भएको हो । मध्यामाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका सचिव उत्सव इटेनीका अनुसार इन्डियन आयल कर्पोरेसनले सुरक्षाका कारण देखाउँदै तेल भर्न नमाने पछि रक्सौल डिपोमा अझै ६८ वटा ट्याङ्करहरु खाली रहेका छन् ।
सुरक्षाको कारण देखाउँदै आइओसीका कर्मचारीले तेल भर्न नमानेको उनले जानकारी दिए । रक्सौलमा रहेका बाँकी ६८ ट्याङ्करहरु पनि आज साँझ सम्म फिर्ता गर्ने पहल भइरहेको इटेनली जानकारी दिए ।
यसैबीच, नेपाल आयल निगमले भारतीय पक्षको असहयोगका कारण इन्धन आपूर्ति हुन नसकेको बताउदै पछिल्लो २/३ दिनयता बजारमा इन्धनको माग धेरै बढेकाले थेग्न मुस्किल भएको जनाएको छ । तराईका जिल्लामा लगातार भैरहेको बन्दका कारण प्रहरीको सुरक्षामा इन्धन ल्याइए पनि मागअनुसार नपुग्दा निगमले स्टकबाटै डिपोमा पठाउने गरेको थियो । आयात ठप्प हुँदा निगमले स्टकमा भएको इन्धन नै वितरण गरिरहेको छ । माग बढ्दै गएकाले स्टकले धेरै दिन धान्न नसक्ने निगमका प्रवक्ता दीपक बरालले बताए । स्टक घट्दै गएकाले अनावश्यक रुपमा इन्धनको जोहो नगर्न उनको आग्रह छ । सकेसम्म सार्वजनिक गाडी चढ्न निगमको आग्रह छ । सबै उपभोक्ताले संयमित भएर इन्धनको खपत गरे समस्या नबढ्ने निगमको भनाई छ ।