इन्धन आयात सहज बन्दै : ढुंगाना

२०७२ पुष १५ गते, बुधबार

काठमाडौं, १५ पुस । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार भारतबाट इन्धन आयात केही सहज बन्दै गएको छ । विभागका महानिर्देशक ढुंगानाका अनुसार गएको २ दिनमा भारतसँगका विभिन्न नाका भएर इन्धन बोकेका ३ सय १२ वटा गाडी नेपाल प्रवेश गरेका छन् । भारतमा बिदाको दिन केही कम इन्धनका गाडी नेपाल आएपनि अरु दिन सहज बन्दै गएको छ । नेपाल भारतको विभिन्न नाकाबाट मंगलबार मात्रै एक सय ९५ वटा इन्धनका गाडी नेपाल छिरेका उनले जानकारी दिए । उनका अनुसार डिजेल बोकेका सबैभन्दा धेरै एक सय ५४ वटा ट्याङकरसहित पेट्रोलको २३, हवाई इन्धनको १०, मट्टितेलको ४ र ४ वटा ग्यास बुलेट नेपाल प्रवेश गरेका हुन् ।
यस्तै सोमबार १ सय २३ वटा इन्धनका गाडी नेपाल आएकामा डिजेलको ८०, पेट्रोलको १२, २७ बुलेट ग्यास, हवाइ इन्धन २ र मट्टितेलको २ ट्याङकर नेपाल प्रवेश गरेका भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । असोज ७ गते अघिको जस्तो धेरै परिमाणमा अझै पनि इन्धन आयात हुन नसकेपनि केहि सहज बन्दै गएको उनको भनाई छ । असोज ७ गतेदेखि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले सिमा नाकामा अवरोध गर्ने भन्दै धर्ना दिएका थिए । त्यसपछि भारतले सुरक्षाको कारण देखाउँदै अघोषित नाकाबन्दी गरेको हो ।
आन्दोलन अघि दैनिक ३ सयदेखि ३ सय ५० सम्म इन्धनका गाडी नेपाल आउने गरेका थिए । अहिले अरु नाका सहज हुन थालेपनि इन्धन भित्रने मुख्य नाका रक्सौल भने ठप्पै छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु