भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित
काठमाडौं, ८ माघ । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा अहिले कुहिरो लागेको छ । कुहिरोका कारण २ सय मिटर मात्र भिजिविलिटी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित भएको छ । कुहिरोसँगै हावा चलेकाले भिजिविलिटी कम भएको मौसमविद् समिर श्रेष्ठ भनाई छ । बिहान १० बजेअघि काठमाडौंको कुहिरो हट्ने संभावना निकै कम रहेको मौसमविद् श्रेष्ठले बताए । सामान्यतया अन्तर्राष्ट्रिय उडानको लागि ३ हजार मिटरसम्मको भिजिविलिटी आवश्यक हुने र १५ सय मिटर भिजिविलिटी भएपछि मात्र आन्तरिक उडान हुन्छ ।
यसैबीच आज पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव हट्दै गएकाले पूर्व र पूर्वसँगै जोडिएको मध्य पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । अरु ठाउँको मौसम सफा हुनेछ । अहिलेको अवस्था हेर्दा ३ दिन देशभरीकै मौसम सफा हुने अनुमान गरिएको मौसमविद् श्रेष्ठले बताए ।
तीन दिन पछि भने फेरि अर्को पश्चिमी वायु सक्रिय हुने भएकाले बदली हुने अनुमान गरिएको छ ।