काम नै नगरी भुक्तानी माग
काठमाडौं, २२ माघ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न ठेक्का पाएको इटालियन ठेकेदारले कामै नगरी ६० करोड रुपैयाँ अग्रिम भुक्तानी माग गरेको छ । निर्धारित काम नगरी थप रकम माग गरेपछि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार को–अपराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) तथा भारतको ‘दि राभेना’ बीच भुक्तानीका विषयमा विवाद भएको छ । समितिले काम नगरी भुक्तानी नदिने भनेपछि ठेकेदारले सुस्त गतिमा काम गर्न थालेको छ ।
भूकम्पपछि रोकिएको सुरुङ निर्माण गत साताबाट पुनः सुरु भएको थियो । भुक्तानीको विषयमा विवाद बढेपछि सुरुङ खन्नेकाम सुस्त बनेको छ । ठेकेदारले काम ढिला गरी बार्गेनिङ गरेको हो । एक साता पनि काम नगरी ठेकेदारले ६० करोड ७५ लाख ७१ हजार रुपैयाँ अग्रिम भुक्तानी माग गरेको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । – कारोबार दैनिकबाट