रक्सौल नाका खुल्यो
काठमाडौं, २२ माघ । बन्द भएको एक सय ३५ दिन पछि रक्सौल नाका खुलेको छ । आज दिउँसोदेखि वीरगञ्जको मितेरी पुल भएर साना सवारी साधन चल्न थालेका हुन् । गएको असोज ७ गतेदेखि रक्सौल नाका ठप्प थियो । यो नाकामा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि त्यसको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता धर्नामा बस्दै आएको थियो । बोर्डर खुला गर्नका लागि दुवै तर्फका व्यवसायी, सर्वसाधारणहरुको संयुक्त टोलिले मोर्चाका कार्यकर्ताले बनाएको बाँसको ढाट तोडेका छन् । दुवै पक्षका सर्वसाधारण र व्यवसायीले बोर्डर खुला गर्दा मोर्चाका कार्यकर्ताको पनि उपस्तिथी रहेको थियो। मोर्चाका नेताहरुको अनुपस्थितीमा स्थानीयहरु मिलेर नाका खुला गरेका हुन। धर्ना स्थलमा रहेका मोर्चाका कार्यकर्ता भने धर्ना स्थलबाट भागेको बताइएको छ। यद्दपी मोर्चाको नेताहरुले नाकाबन्दीको खुलेको घोषणा गरेका छैनन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहिबारनै बिरगंजमा भनेका थिए कि बिरगंजको नाकाबन्दी कि त खुलाउन पर्छ हैन भने सबै नाका बन्द गर्नुपर्छ। मधेसी मोर्चाका नेताहरुले काठमान्डौमा वार्ता गर्नका लागि बार्गेनिङका लागि नाका खुला गरिएको बताइएको छ। मोर्चाका नेताहरुले वार्तापछि आन्दोलनको स्वरूप बदल्ने घोषणा गरेपनि वार्ता अगाडी नै नाका खुला हुनुलाई महत्त्वका साथ् हेरिएको छ।