बुधबारदेखि पूरा सिलिण्डर ग्याँस पाईने
काठमाडौ, ३ फागुन । ग्याँस व्यवसायीहरुले बुधबारदेखि पुरा सिलिण्डर ग्याँस भर्ने तयारी गरेका छन् । उद्योगीले बुधबारबाट पूरा सिलिण्डर ग्यास भर्ने तयारी गरेको नेपाल एलपी ग्यास संघले जानकारी दिएको छ । मन्त्रालयले उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिन मंगलबार छलफल राखेको ग्याँस उद्योग व्यवसायीहरुले जानकारी दिएका छन् । यो निर्णय पारित भएसँगै उपभोक्ताले करिब ५ महिनापछि बुधबारबाट पूरा सिलिण्डर ग्यास पाउने व्यवसायीको तर्क छ । बुधबारबाट पूरा सिलिण्डर ग्यास बजारमा आएपनि सहज रुपमा उपभोक्ताले ग्याँस पाउन भने अझै २ महिना लाग्ने व्यवसायीको दावी छ । उपभोक्ताको सहजताका लागि आफूहरुले बारम्बार पूरा सिलिण्डर भर्न पाउँ भनी निवेदन दिएको उनीहरुको भनाई छ । अहिले आएर नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले पूरा सिलिण्डर भर्न अनुमति दिने तयारी गरेको ग्याँस व्यवसायीहरुको दावी छ ।
नाकाबन्दीका कारण अभाव भएपछि उद्योगीले एउटा सिलिण्डरमा ७ दशमलव १ केजी ग्यास भर्दै आएका थिए। कतिपय उद्योगीले भने सिलिण्डरमा १४ केजी नै भर्न थालिसकेको जनाएका छन्। भारतले लामो समयसम्म गरेको नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै गरी ग्यास आएपनि यो बीचको अन्तर सहज हुन समय लाग्ने व्यवसायीको तर्क छ । सामान्य अवस्थामा नेपालमा मासिक ३३ हजार मेट्रिक टन ग्यासको माग भएपनि अहिले अभावले यो माग बढ्ने उनीहरुको भनाई छ । मासिक ५० हजार मेट्रिक टन बनाउन सकिएमा अबको दुई महिनामा उपभोक्ताले सहज रुपमा ग्यास पाउन सक्ने ग्याँस व्यवसायीले जनाएका छन् ।