इन्धन कालोबजारीमा आयल निगमको संलग्नता

२०७२ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौ, ७ फागुन । नेपाल आयल निगमले अबैध पम्पलाई तेल दिइरहेको तथ्य खुलेको छ । इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको निगमले अघोषित नाकाबन्दीपछि पाँच महिना यता बिना दर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो।
महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ । महर्जनमाथि अबैध प्रक्रियामार्फत भित्र्याएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महंगो मूल्यमा बेचेको अभियोग छ। प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको छ।
यसैबीच, रक्सौल नाका खुलेपछि पेट्रोल र डिजेल गरी अहिलेसम्म १७ हजार ९ सय तीन किलो लिटर तेल नेपाल भित्रिएको छ । यो अवधिमा चार हजार सात सय ८४ किलो लिटर पेट्रोल नेपाल भित्रिएको छ । वीरगञ्ज नाकाका निमित्त प्रमुख एंव भन्सार अधिकृत लोकराज पन्तका अनुसार माघ २५ गतेदेखि बिहीबारसम्म दुई सय ७६ ट्यांकरमा चार हजार सात सय ८४ किलो लिटर पेट्रोल नेपाल भित्रिएको छ । यही अवधिमा ८ सय ५० ट्यांकरमा १३ हजार १ सय १९ किलो लिटर डिजेल भित्रिएको छ ।
यस्तै ७६ ग्यास बुलेटमा एक हजार तीन सय ५८ मेट्रिक टन ग्यास आयात भएको छ । भारतले माघ २२ गते नाका खोलेपनि इन्धन आयात भने २५ गतेदेखि मात्रै सुरु भएको थियो ।
पेट्रोल र ग्यासको आयात केही कम भए पनि डिजेल भने सन्तोषजनक रुपमा नेपाल भित्रिरहेको वीरगञ्ज नाकाका निमित्त प्रमुख एंव भन्सार अधिकृत लोकराज पन्तले बताउनुभयो । उहाँका अनुसार ग्यास सहज हुन यो नाका भएर दैनिक ३० देखि ४० बुलेट ग्यास भित्रनुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु