जोनसनलाई झन्डै ८ अर्ब जरिवाना

२०७२ फाल्गुन १३ गते, बिहीबार

काठमाडाें, १३ फागुन । जोनसन एण्ड जोनसनले अमेरिकाकी एक महिलाको परिवारलाई सात करोड २० लाख अमेरिकी डलर अर्थात सात अर्ब ९२ करोड नेपाली रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । अलाबामाकी ज्याकलिन फक्सको पाठेघरको क्यान्सरका कारण ज्यान गएको थियो । गएको वर्षको अक्टोबरमा ६२ वर्षकी फक्सको ज्यान गएपछि उहाँको परिवारले जोनसन एण्ड जोनसन विरुद्ध मुद्दा दायर गरेको थियो । फक्सको परिवारले उनको निधन जोनसन एण्ड जोनसनको पाउडर तथा साबुनको प्रयोगका कारण क्यान्सर लागेर भएको भन्दै मुद्दा दायर गरेका थिए । जोनसनले उत्पादन गर्ने सामग्रीमा टेलकम पाउडर हुने र त्यसले क्यान्सर निम्त्याउने भएकाले फक्सको परिवारको दाबीलाई सदर गर्दै मिसोरी राज्य अदालतले जोनसन एण्ड जोनसनलाई जरिवाना तिर्न आदेश दिएको हो ।
अलाबामामा बस्दै आएकी फक्सको परिवारले गएको ३५ वर्षदेखि सरसफाइका लागि जोनसनको उत्पादन प्रयोग गर्ने गरेको थियो । फक्सको तीन वर्षको उपचारपछि गएको अक्टोबरमा निधन भएको थियो ।
फक्सको निधन पछि उहाँको परिवारले जोनसनको उत्पादनका कारण उहाँलाई क्यान्सर लागेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । तीन हप्ताको सुनुवाइपछि अदालतले जोनसनले उपभोक्तालाई झुक्याएको तथा हानिकारक तत्व मिसिएको उत्पादन बेचेकोमा दोषी ठहर गर्दै जरिवाना तिराएको फैसला सुनाएको हो ।
जोनसन विरुद्ध अहिले मिसोरी राज्य अदालतमा एक हजार भन्दा धेरै मुद्दा दर्ता भएका छन् । यस्तै न्यु जर्सीमा पनि दुई सय भन्दा धेरै मुद्दा दर्ता भएका छन् । जोनसनले बेबी पाउडर, साबुन तथा ट्वाइलेट क्लिनरसहितका आफ्ना उत्पादनमा ट्यालकम प्रयोग गर्ने गरेको छ । यसले क्यान्सर लाग्ने खतरा रहने वैज्ञानिकले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु