निजी कम्पनीलाई दिइएको ‘इन्धन आयात अनुमति’ रद्द
काठमाडौं, ५ चैत । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले निजी कम्पनीहरुलाई दिएको पेट्रोलियम पदार्थ आयातको अनुमति रद्द गरेको छ । पेट्रोलियम आयात गर्ने अधिकार नेपाल आयल निगमलाई मात्र रहने गरी अन्य कम्पनीको अनुमति रद्द गरेको हो । बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आयल निगमबाहेक अन्य कुनै पनि कम्पनीले पेट्रोलियम पदार्थ आयात र बिक्री गर्न नपाउने निर्णय भएको जानकारी दिए । यसअघि ३६ वटा कम्पनीलाई पेट्रोलियम आयात तथा बिक्रीका लागि अनुमति दिइएको थियो ।
भारतीय नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थको हाहाकार भएपछि सरकारले निजी कम्पनीहरुलाई पेट्रोल आयात गरेर बिक्री गर्ने अनुमति दिएको थियो ।