नयाँ शक्तिद्वारा एनसेल बहिस्कार गर्ने चेतावनी
काठमाडौं, ५ वैशाख । नयाँ शक्ति नेपालले एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ । आज ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख कार्यकारी कर अधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ शक्तिले यस्तो चेतावनी दिएको हो । एनसेल स्वामित्व हस्तान्तरणका क्रममा भएको कर छलीप्रति चासो दिँदै कानुनबमोजिम कर नतिरेमा देशव्यापीरुपमा ‘एनसेल’ बहिस्कार गर्ने चेतावनी दिएको हो । नयाँ शक्ति नेपालको नेतृ कल्पना धमलाको नेतृत्वमा कर कार्यालय पुगेको एक टोलीले कानुन बमोजिम राज्यलाई कर नतिरेमा देशव्यापीरुपमा एनसेलको प्रयोग बहिस्कार गर्ने अभियान चलाउने चेतावनीसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेतृ धमलाले भनिन्, ‘एनसेलको सम्पूर्ण शेयर स्वामित्व बिक्री भएको तर स्थानीय स्वामित्वको २० प्रतिशतमात्र पूँजिगत लाभकर असुल भएको कुरा सार्वजनिक जानकारीमा आएको छ । प्रचलित कानुनविपरीत राज्यलाई घाटा पर्नेगरी कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम हुनु मुलुककालागि दुःखदायी कुरा हो । यदि यस्तै गरियो भने हामी एनसेलको सेवा बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान चलाउँछौं ।’
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ठूला करदाता कार्यालयले सुशासन कायम गर्न आफनो ध्यानकेन्द्रित गर्दै राज्यको तर्फबाट ठूला करदाताहरुबाट कानुनवमोजिम कर असुली गरी देश विकासका निम्ति र आधारभूत जनताको सेवाका निम्ति श्रोत परिचालन गर्न आफनो ध्यान केन्द्रित गरोस् भन्ने पनि हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
‘नयाँ शक्ति नेपाल कुनै मोलाहिजा वा दवावमा नपरी चाँढो पूँजिगत लाभकर असूल गर्न ठुला करदाता कार्यालयलाई अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ, ‘यदि प्रचलित कानुन विपरित राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम भयो भने एनसेलको सेवा बहिष्कार गर्ने राष्ट्रव्यापी अभियान नयाँ शक्ति नेपाले संचालन गर्न बाध्य हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छौं ।’