विवरण लिएर आउन थाले सिनेमा हल

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौं, ११ वैशाख । पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन् । केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो ।
गोपीकृष्ण सिनेमा हलले कर तिर्न विभिन्न किसिमका करको शीर्षकसहितको विवरण लिएर आएको महानगरपालिका राजस्व विभागका विभागीय प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिनुभयो । अन्य सिनेमा हल पनि कर तिर्न विवरण लिएर आएका उहाँले बताउनुभयो ।
“महानगरभित्र सञ्चालित सिनेमा हलले मनोरञ्जन कर अहिलेसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन परेको हो” – प्रमुख प्रधानाङ्गले भन्नुभयो ।
उहाँका अनुसार कारबाही प्रक्रियाअन्तर्गत कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने, मालपोत रोकिने र बैंक खाता रोक्का गरिने छ ।
हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत ११ सिनेमा हल सञ्चालित छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ । आफ्नो भवन रही सञ्चालन हुँदै आएका सिनेमा हलले बहाल घर तिर्नु नपर्ने र भाडामा लिई हल सञ्चालन गर्दै आएकाले बहाल करसमेत तिनुपर्ने नियम रहेको राजस्व महाशाखा प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।
महानगरमा सञ्चालन हँुदै आएकामध्ये पाँच वटा हल भाडाका रहेका छन् । महानगरले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका छैनन् । केहीले घरजग्गा र व्यवसाय कर तिर्ने गरेका छन् ।
सिनेमा हले कर नतिर्दा वार्षिक रु २५ लाख बक्यौता रहने गरेको छ ।
स्थानीय र नेपाली भाषामा देखाइने कुनै पनि सिनेमाको लागि भने मनोरञ्जन कर तिर्नु पर्दैन । यो भन्दाबाहेक अन्य सबै भाषामा देखाइने सिनेमाका लागि मनोरञ्जन कर तिर्नुपर्ने नियम रहेको छ ।
नियमअनुसार सिनेमा हलमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने छ । – शर्मिला पाठक /रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार