अवैध रुपमा यार्सागुम्बा सङ्कलन गर्ने पक्राउ
काठमाडौ, २५ वैशाख । उत्तरी डोल्पामा पर्ने ‘कुनासा’ यार्सागुम्बा पाटनबाट अवैध यार्सागुम्बा सङ्कलन गर्दै गरेको अवस्थामा २६ जना तस्कर पक्राउ परेका छन् । यार्सागुम्बासहित उपक्राउ पर्नेहरु सबै डोल्पाकै भएको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका खरिदार देवेन्द्र जिसीले बताए । उनीहरुलाई सेनाले नियन्त्रणमा लिएर सुम्धो पोस्टमा राखिएकाले निकुञ्ज कार्यलयमा ल्याउनको लागि आज बिहानै सेनाको टोली सुम्धोतर्फ गएको जिसीले बताए ।
औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन कार्य सुरु नहुँदै उनीहरु तस्करीका लागि यार्सागुम्बा पाटन गएका बेला नेपाली सेनाको सुम्धो पोस्टबाट गस्ती गएको टोलीले पक्राउ गरेको निकुञ्जले जनाएको छ । यार्सागुम्बा सुरक्षाको लागि जिल्लाको तोईजुम, सुम्धो, सुलिगाडलगायतको ठाउँमा सेनाको पोस्ट स्थापना गरिएको छ । औपचारिक रुपमा सङ्कलन कार्य हुनुअगावै हुन तस्करी नियन्त्रणका लागि सेनाले कडाइ गरेको छ ।
यस वर्ष यार्सा पाटनमा हिउँ नभएकाले पनि अगाडिनै यार्सागुम्बा पाइने भएकाले पनि तस्कर औपचारिक रुपमा सङ्कल हुनुअगावै छिर्ने गरेको संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।