मापसे कारबाहीको पैसा मन्दिर पुनर्निर्माणका लागि
काठमाडौ, २८ बैशाख । जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्ध मन्दिर पुनःनिर्माणका लागि दिएको छ । प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । उनले भने, ‘एक महिनाको अवधिमा मापसे कारबाहीमा उक्त रकम उठेको हो ।’ २०७२ चैत १० गतेदेखि २०७३ वैशाख २१ गतेसम्मको अवधिमा २२ जना मापसे कारबाहीमा परेकोसमेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीले करिब रु ५० हजार बराबर पर्ने १५ घनमिटर ढुङ्गा सहयोग गरेको जगन्नाथ मन्दिरका पुजारी कृष्णदेव लेखकले जानकारी दिए । उनले भने, ‘प्रहरीले मन्दिर पुनःनिर्माणका लागि बेलाबेलामा सहयोग गर्दै आएका छन् ।’ पछिल्लो समय बैतडी प्रहरी सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । – रासस