जिरी विमानस्थल सञ्चालनमा ल्याइने
काठमाडौ, ३० बैशाख । दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । विसं २०४२ देखि पूर्णरुपमा बन्द रहेको जिरी विमानस्थल यसअघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन । पटक–पटक विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको समूहले नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरे पनि सुनुवाइ हुन सकेको थिएन । विमानस्थल पुनःनिर्माणका लागि सर्भेको काम सुरु गर्न लागिएको छ । लामो समयको प्रतीक्षापछि जिरीको विमानस्थल पुनःनिर्माणका लागि सर्भे गर्न नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर जिरी आइसकेका छन् । इन्जिनियर अशोक शाहले दिएको जानकारीअनुसार बुधबार सर्भेको काम सुरु गरी झन्डै एक सातासम्मको समय खर्चेर सर्भेको काम सकिएपछि रिपोर्ट प्राधिकरणमा बुझाइने र त्यसपछि थप काम अघि बढ्नेछ ।