त्रिवर्षीय योजना पारित

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौँ, ५ जेठ । राष्ट्रिय विकास परिषद्ले आगामी त्रिवर्षीय योजनाको आधारपत्रमा केही संशोधनसहित पारित गरेको छ । संशोधित आधारपत्रलाई राष्ट्रिय योजना आयोगले १५ दिनभित्र सार्वजनिक गर्ने छ भने दुई महिनाभित्र कार्यक्रमसहित योजनाको पूर्ण खाका तयार पार्ने भएको छ ।
दुई दिनसम्म चलेको परिषद्को बैठकले सोमबार आधारपत्रमा प्रस्ताव गरिएका केही रणनीतिमा संशोधनसहित १४ औँ योजना पारित गरेको हो । स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाली जनता भन्ने सोच र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापनाको परिकल्पना योजनामा गरिएको छ ।
त्यसैगरी, नेपाललाई मध्यम आय भएका मुलुकको स्तरमा पु¥याउने लक्ष्यसहितको त्रिवर्षीय योजनामा वार्षिक औषत आर्थिक वृद्धिदर ७.१० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । योजनामा कृषि क्षेत्रको रूपान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तारमा जोड दिइएको छ ।
त्यसैगरी, ऊर्जा, सडक तथा हवाई यातायातको विकासमा जोड दिँदै ग्रामीण र सहरको दुरी घटाउने, सामाजिक विकास, सामाजिक सुरक्षा तथा सामाजिक संरक्षणमा जोड दिँदै मानव विकास उच्च र दीगो बनाउने रणनीति योजनामा छ ।
आगामी आर्थिक वर्ष २०७३÷७४ बाट लागु हुने त्रिवर्षीय योजनाले आर्थिक, सामाजिक एवं शासकीय सुधार, जवाफदेही सार्वजनिक वित्त, स्वच्छ एवं पारदर्शी तथा जनमैत्री सार्वजनिक सेवाको परिकल्पना पनि गरेको छ । त्यसैगरी, सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागितामा गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने लक्ष्यसमेत योजनाले राखेको छ । आगामी योजनाले कृषि क्षेत्रबाट कुल आर्थिक वृद्धिदरमा सबैभन्दा बढी लाभ हुने अपेक्षा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार