कर छली नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्झौता
काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग बीच पारस्परिक समझदारी पत्रमा जेठ ५ गते हस्ताक्षर भएको छ । आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक श्री चुडामणि शर्मा र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको तर्फबाट महानिर्देशक श्री किशोरजंग कार्कीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाई अन्तर निकाय सहयोग समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक भएकोले समझदारी पत्रको आदान प्रदान भएको हो ।
यस्तो छ समझदारी पत्र
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रणका लागि आ–आफनो कार्य सम्पादन गर्नेे क्रममा प्राप्त सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी एवं कर छली सम्बन्धी सूचना आदान प्रदान गर्ने सम्बन्धमा दुवै पक्षले देहाय बमोजिम गर्ने गराउने गरी यो पारस्परिक समझदारी गरिएको छ ः
१. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी एवं कर छली सम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधि भित्र रही आवश्यकतानुसार एक आपसमा सूचना आदान प्रदान गरिनेछ ।
२. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी एवं कर छलीका जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि संयुक्त वा अलग अलग रुपमा जोखिम व्यवस्थापन गरिनेछ ।
३. आ–आफ्नो क्षेत्राधिकारका विषयहरु सूक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गरी आवश्यकतानुसार निष्कर्ष आदान प्रदान गरिनेछ ।
४. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रण सम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुको क्षमता विकास गरिनेछ ।
५. दुवै पक्षले सूचना आदान प्रदान कार्यलाई व्यवस्थित गर्न आ–आफनो निकायमा सम्पर्क व्यक्ति (ँयअब िएभचकयल) तोकिनेछ ।
६. यो पारस्परिक समझदारी पत्र ५ (पा“च) वर्षको लागि मान्य हुने छ । आपसी समझदारीमा आवश्यकतानुसार पुनः नवीकरण गर्न सकिनेछ ।
७. यो समझदारी पत्र दुवै पक्षबाट हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ ।
८. दुवै पक्षबाट आपसी सूचना आदान प्रदानको अभिलेख व्यवस्थित गरी सोको वार्षिक प्रतिवेदन तयार गरी सो समेत आदान प्रदान गरिनेछ ।
९. दुवै पक्षको सहमतिमा आवश्यकतानुसार यस समझदारी पत्रमा संशोधन गर्न सकिनेछ ।
आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभागका उपमहानिर्देशकहरु राममणि दुवाडी,विष्णुप्रसाद नेपाल, आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ का प्रमुख कर प्रशासक चन्द्रकला पौडेल, आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. २ का प्रमुख कर प्रशासक अर्जुनप्रसाद पोख्रेल, त्यसैगरी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उपमहानिर्देशकहरु राजेन्द्रकुमार पौडेल, ज्ञानेन्द्र पौडेल, निर्देशक कालिप्रसाद पोख्रेल र आन्तरिक राजस्व विभागका निर्देशकहरु पदमकुमार श्रेष्ठ, खिमबहादुर कु“वर, मोहनप्रसाद वाग्ले लगायतको उपस्थिति रहेको थियो ।