आन्दोलनमा भाग लिने विदेशीलाई हजारौ जरिवानासहित देश निकाला हुने
काठमाडौ, ७ जेठ । अध्यागमन बिभागले नेपाल भ्रमणमा रहेका विदेशी नागरिक संविधानप्रति असन्तुष्ट दलले आयोजना गर्ने आन्दोलनमा सहभागी हुन थालेपछि उनीहरुका लागि सूचना सार्वजनिक गरेको छ । नेपाल भ्रमणमा आउने पर्यटक, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर प्रवेश गरेका विदेशी नागरिकले नेपालमा हुने आन्दोलनमा सरिक भएको देखिएमा ५० हजारसम्म जरिवाना गरिने सूचनामा उल्लेख छ ।
विदेशी नागरिक नेपालको कानून अनुसार कुनै पनि आन्दोलनमा सरिक हुन नपाउने भएका कारण त्यस्ता क्रियाकलापमा लाग्नेलाई फिर्ता पठाइने जनाइएको छ ।
अध्यागमन नियमावली, २०६५ अनुसार १० वर्षसम्म फर्कन नपाउने गरी नेपालबाट निकाला र ५० हजार जरिवाना हुन सक्छ । विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याइएको जनाएको छ ।