भूकम्प पीडितलाई डेढ लाख रुपैयाँ दिने सहमति
काठमाडौं, १५ असार । प्रमुख दलका शीर्ष नेताहरुको संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले भूकम्प प्रभावितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिने सहमति गरेको छ । अब सरकारले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा एकमुष्ठ डेढ लाख रुपैयाँ दिने भएको छ ।
त्यसैगरी दोस्रो किस्तामा प्रभावितलाई ५० हजार रुपैयाँ दिने सहमति गरिएको छ । दलहरुबीच सहमति भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई एकमूष्ठ दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार अबरुद्ध गर्दै आएको संसद बैठक सुचारु हुने भएको छ ।
प्रमुख दलबीच भएको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसद् बैठकलाई सम्बोधन गरी जानकारी दिनेछन् । संसद् बैठक दिउँसो २ बजे बस्दै छ । यसअघि आजै ११ बजे बस्ने भनिएको संसद बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी थिइन् ।