सवारी लाइसेन्स बनाईदिने भन्दै लाखौ ठगी !
काठमाडौ, ६ साउन । जिल्ला प्रहरी कार्यालय उदयपुरले सवारी अनुमतिपत्र (लाईसेन्स्) बनाईदिने प्रलोभन दिएर ७० लाख ठगी गर्ने हरिदेव मण्डललाई पक्राउ गरेको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित नेपाली सेना र सशस्त्र प्रहरी बलमा कार्यरत बिभिन्न दर्जन व्यक्तिबाट ७० लाख ५० हजार ठगी गरेको आरोपमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका ७ का हरिदेव मण्डल पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार १० वर्ष सैनिक जागिर खाएर ६ वर्षअघि उपदानमा सेवा निबृत्त भएका ३४ वर्षीय मण्डलले घरमै लाईसेन्स ल्याईदिन्छु भन्दै रकम लिने गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले मण्डलले एक व्यक्तिबाट न्यूनतम ६० हजारदेखि अधिकतम ३० लाखसम्म रकम असुलेको उजुरी परेको छ । पक्राउ पर्ने मण्डलले सैनिक भोजकुमार खड्काबाट मात्र ३० लाख असुलेका छन् भने अर्का सैनिक चिन्ताबहादर महतोबाट १२ लाख र लालबहादुर घिसिङबाट ५ लाख असुलेको उजुरी परेको एसपी केसीले बताए ।
त्यस्तै अन्य सैनिकहरु खिलनाथ बस्नेतबाट ४ लाख ९० हजार, लक्ष्मण राईबाट ४ लाख ५० हजार, सोईसाल लामाबाट ४ लाख र गोपाल तामाङबाट ६० हजार लिएर ठगी गरेको आरोप पनि उजुरीमा जनाइएको छ ।
मण्डलले उदयपुर रुपाटार ६ कटहरे घर भई गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्ममा कार्यरत उमेश हमालबाट २ लाख ५० हजार र उदयपुरकै मैनामैनी ९ का गणेशकुमार राईबाट ७ लाख रुपैंया लिएको आरोप पनि उजुरीमा छ । गत असार ३० गते पक्राउ परेका मण्डललाई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी केसीले जानकारी दिए । सरकारले १० वर्षदेखि वितरणमा रोक लगाएको लाईसेन्स् गतवर्षदेखि खुल्ला भएपछि बनाउन खोज्नेहरुको यातायात कार्यालयमा भीड लाग्ने गरेको छ ।