बाटो अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या
काठमाडौं, ७ साउन । लगातारको वर्षाले आएको बाढीपहिरोबाट बाटो अवरुद्ध हुँदा ललितपुर जिल्लाको दक्षीणी क्षेत्रका गाउँमा दूध ढुवानीमा समस्या आएको छ । ग्रामीण भेगमा पर्ने भट्टेडाँडा, माल्टा, प्युटारलगायतका गाविसमा उत्पादित भएको दूध विगत पाँच दिनदेखि बजार ल्याउन नसकेका कारण कृषक मारमा परेका छन् । अवरुद्ध बाटो समयमै खुलाउन भएको ढिलाइले दूध ल्याउन नसकेको उनीहरुको गुनासो रहेको छ । दैनिकरुपमा जिल्लाकै दक्षिणी क्षेत्रमा पर्ने १९ गाविसका कृषकले ४० हजार लि दूध उत्पादन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष कृष्णमान लामाले बताए । उत्पादन भएको दूध अवरुद्ध सडकका कारण बजार क्षेत्रमा ल्याउन कठिनाइ भइरहेको उनको भनाइ रहेको छ । दुग्ध व्यवसायमा प्रत्यक्षरुपमा आठ हजार कृषक संलग्न रहेको उनले बताए । त्यसमध्ये ग्रामीण क्षेत्रमा मात्रै पाँच हजार र सहरी भेगमा तीन हजार कृषक रहेको बताइएको छ ।
जिल्लाभरि खपत हुने दूधको ७० प्रतिशत यहाँ उत्पादन भएको दूधले धानेको छ– उनले भने । बाँकी रहेको ३० प्रतिशत दूध चितवन, काभ्रे, नवलपरासी, रौतहटलगायतका जिल्लाबाट ल्याउने गरेको उनको भनाइ रहेको छ । जिल्लाभरि दैनिक एक लाख लिटर दूध आवश्यक पर्दै आएको जनाइएको छ । सहरी क्षेत्रमा ३० हजार लिटर दूध उत्पादन हुँदै आएको पाइएको छ । प्रत्यक्षरुपमा यस पेसामा संलग्न कृषकले राम्रो आम्दानी गरिरहेको उनले बताए । प्रति लैनो भैँसीबाट दैनिक सात लिटर दूधबाट रु ४२० आम्दानी हुने गरेको छ । अवरुद्ध बाटो वर्षात् रोकिएपछि प्राविधिकको सल्लाहअनुसार छिट्टै खुलाइने स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए । लगातारको वर्षाले पहाडी क्षेत्रमा गएको पहिरोका कारण ठाउँठाउँमा बाटो अवरुद्ध भएको उनले बताए ।